बिहीबार, वैशाख १३, २०८१

अफगानिस्तानमा दुई महिला न्यायाधीशको गोली हानी हत्या

नेपालखोज २०७७ माघ ५ गते ११:०२

काबुल । अफगानिस्तानमा दुई महिला न्यायाधीशको गोली हानी हत्या गरिएको छ । सरकारी गाडीमा सर्वोच्च अदालत गइरहेका ती दुई महिला न्यायाधीशमाथि आक्रमण गरिएको हो ।

पछिल्ला केही महिनादेखि राजधानी काबुलमा उच्च तहका व्यक्ति लक्षित आक्रमणहरु भइरहेका छन् । यी हत्याहरुले राजधानी काबुलसहित देशका प्रमुख शहर बजारमा त्रास फैलाएको छ भने घटनाको जिम्मा हालसम्म कसैले लिएको छैन ।

त्यसो त अफगानमा जारी हिंसा अन्त्य गर्न सरकार र मुख्य विद्रोही तालिबान समूहबीच शान्ति वार्ता भइरहे पनि उच्च तहका व्यक्ति हत्याको क्रम भने बढेको छ ।

प्रवक्ता क्वाइमका अनुसार अफगानिस्तानका उच्च अदालतमा २०० भन्दा बढी महिला न्यायाधीशहरु कार्यरत छन् । काबुल प्रहरीले पनि आक्रमणको पुष्टी गरेको छ ।

अफगानिस्तानको सर्वोच्च अदालतमा यसअघि सन् २०१७ को फेब्रुहरीमा पनि आक्रमण गरिएको थियो । उक्त आक्रमणबाट कम्तीमा २० जना मारिनुका साथै ४१ जना घाइते भएका थिए ।

काबुलमा राजनीतिकर्मीहरु, पत्रकारहरु, अधिकारवादीहरु, चिकित्सक र कानुन व्यवसायी समेतका माथिल्लो पंक्तिका धेरै अफगानीहरुलाई लक्षित गरी दिनदहाडै सिलसिलाबद्ध आक्रमण भइरहेका छन् ।

प्रतिक्रिया