शुक्रबार, वैशाख ७, २०८१

प्रधानमन्त्री रोजगार कार्यक्रम, हात्तीको मुखमा जिरा

रोजगारी माग गर्नेको संख्या सात लाख ४३ हजार, तीन हजारले पाए आंशिक रोजगारी

नेपालखोज २०७७ माघ ५ गते १३:११

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुलाई स्वदेशमा नै रोजगारी दिने ठूला ठूला भाषण गरेपनि उनको त्यो भाषण खाली भाषणमा मात्रै सिमित रहेको देखिएको छ । विश्वव्यापी महामारीका कारण वैदेशिक रोजगारका क्रममा रहेकाे ठूलो जनसंख्या स्वेदश फर्किएको छ, भने स्वदेशमा नै लाखौं युवायुवतीहरु बेरोजगार रहेका छन् । यो अवस्थामा प्रधानमन्त्री रोजगारी कार्यक्रमले रोजगारीका ठूला ठूला सपना बाँडेको भएपनि रोजगारी पाउनेहरुको संख्या भने न्यून देखिनुले प्रधानमन्त्री रोजगारी कार्यक्रम हात्तीको मुखमा जिरा जस्तै भएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार अहिले रोजगारी माग गर्नेको संख्या सात लाख ४३ हजार रहेको छ । तर यति ठूलो संख्यामा रोजगारीको माग हुँदा पनि रोजगारीको आपूर्ती संख्या अर्थात् रोजगारी पाउनेको संख्या भने हाल तीन हजार जनाको हाराहारीमा रहेको छ ।

मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् दुई हजार सात सय ६४ जना युवायुवतीहरुले रोजगारी पाएका छन् । यो संख्या भने चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा रोजगार पाउनेको संख्या हो, प्रधानमन्त्री रोजगार कार्यक्रमका निर्देशक सुमन घिमिरेले भने ।

नेपाली श्रम बजारमा प्रत्येक वर्ष पाँच लाखको हाराहारीमा युवाहरु प्रवेश गर्ने भएपनि रोजगारीको आपूर्ती भनेको निकै नै न्यून देखिनुले प्रत्येक वर्ष रोजगारी र आर्थिक सुरक्षाका लागि विदेशिनेहरुको संख्या बढ्दै गएको छ । तर, पछिल्लो समय भने कोभिड १९ कै कारण वैदेशिक रोजगारीमा जानेहरुको संख्यामा कमी आएको र देशमा रोजगारीको अवसर पनि नभएकाले यसले समाजलाई थप जटिलतामा धकेल्ने छ । यसले गर्दा सामाजिक अपराध, धनी र गरिबबीचको खाडल बढेर जाने देखिन्छ । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का अनुसार कोभिड १९ कै कारण हालसम्म झण्डै एक लाख ५० हजार युवाहरु वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका छन् । चालु आर्थिक वर्षको पुस मसान्तसम्म मात्र एक लाख ५२ हजार जना युवाहरु वैदेशिक रोजगारीबाट फर्किएका छन् । यी युवाहरुलाई स्वरोजगार बनाउनको लागि पनि सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारीरुपमा कार्यान्वयनमा ल्याउनुपर्ने देखिएको छ ।

प्रतिक्रिया