शुक्रबार, वैशाख ७, २०८१

बेलायतबाट नेपाल फर्केका ३ जनामा नयाँ प्रजातिको कोरोना भएको पुष्टि

नेपालखोज २०७७ माघ ५ गते १४:०४

काठमाडौं । नेपालमा पनि नयाँ प्रजातिको कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट आएका तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि भएको जानकारी दिएको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले हङकङस्थित प्रयोगशालामा गरिएको परीक्षणमा तीन जनामा नयाँ प्रजातिको कोरोना देखिएको जानकारी दिएका छन् ।

केही दिनअघि बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरूमा देखिएको कोरोना नयाँ प्रजातिको हो कि होइन भनेर विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङस्थित प्रयोगशालामा पठाइएको थियो ।

सोमबार ती नमूनाको रिपोर्ट आएको हो । बेलायतबाट आएका २८ वर्षीया महिला, ६७ र ३२ वर्षीय पुरूषमा देखिएको भाइरस यसअघि बेलायतमा देखिएको नयाँ भेरियन्टसँग मिलेको मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरूष संक्रमणमुक्त भइसकेका छन् भने ६७ वर्षीय पुरूषमा पनि कुनै लक्षण देखिएको छैन ।

बेलायतसहित युरोपियन मुलुक, अमेरिका र अफ्रिकामा फैलिएको नयाँ प्रजातिको भाइरस पहिलाको भन्दा बढी संक्रामक रहेको वैज्ञानिकहरूले बताएका छन् ।

प्रतिक्रिया