प्रतिनिधिसभा निर्वाचनका लागि ८ अर्ब खर्च
काठमाडौं । आगामी वैशाखमा हुने निर्वाचनका लागि करिब ८ अर्ब खर्च लाग्ने भएको छ ।
निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ गरी दुई चरणमा हुने गरी तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि करिब ८ अर्ब खर्च लाग्ने अनुमान गरेको हो । आयोगले आइतबार अर्थ मन्त्रालयका सचिवसहितसँग निर्वाचन खर्चबारे छलफल गरेकामा करिब ८ अर्ब खर्च लाग्ने प्रारिम्भक निष्कर्ष निकालेको हो ।
आयोगले यसपटक कोरोना महामारीलाई समेत मध्यनजर गरेर निर्वाचन तयारी गर्नुपर्ने भएकाले अघिल्ला निर्वाचनमा भन्दा खर्च केही बढ्ने अनुमान गरेको छ । सो विषयमा प्रारम्भिक खाका बनाउने काम भइरहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
त्यस्तै संसद् विघटनपछि सरकारको सिफारिसमा दुई चरणमा गर्ने गरी तोकिएको निर्वाचनको तयारी गर्न आयोगले निर्वाचन कार्यायोजना समेत तयार गर्दै गरेको छ ।
आयोगले कार्ययोजनामा निर्वाचन तालिकादेखि निर्वाचन कार्यक्रम र खर्च तथा व्यवस्थापनका विषयलाई समेट्दै छ ।
यसअघि २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ७ अर्ब ७५ करोड ९५ लाख ४१ हजार खर्च लागेको थियो ।
त्यस बखतको निर्वाचनमा सरकार, सुरक्षा निकाय, पर्यवेक्षकलगायतमा तीनै तहको निर्वाचनमा गरी ३० अर्बभन्दा बढी खर्च भएको थियो ।
प्रतिक्रिया