बिहीबार, वैशाख ६, २०८१

मोरङमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते, एकको अवस्था गम्भीर

नेपालखोज २०७७ माघ ५ गते १६:२२

विराटनगर । मोरङमा यात्रुवहाक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । सोमबार दिउँसो मोरङको रतुवामाई नगरपालिका–३ स्थित चौकीघाटमा मोटरसाइकललाई बचाउन खोज्दा यात्रुवाहक बस दुर्घटनामा परेको हो ।

चौकीघाटबाट विराटनगरतर्फ आइरहेको को १ ख ३२७२ नम्बरको बस पश्चिमबाट पूर्वतर्फ गइरहेको एउटा मोटरसाइकललाई जोगाउखोज्दा बस सडकबाट पल्टिएको हो । प्रहरीकाअनुसार दुर्घटनामा परी घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर छ ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले दुर्घटनामा परेर बसमा यात्रा गरिरहेका रतुवामाई–३ का ३१ वर्षीय राजेश सिंह गम्भीर घाइते भएका छन् । स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको छ । सिंहको कम्मर लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ ।

दुर्घटनामा परेर रतुवामाई–३ का परमेश्वर पण्डित, अख्नुसिंह गनगाईं, सीतादेवी सिंह, सुस्मिताकुमारी ताजपुरीया, केअनु मिया, सगरुन खातुन, सञ्जय झा, रुपादेवी झा, प्रिन्स झा, जितेन्द्र झा, चौँठी ताजपुरीया, शिव साह घाइते भएका छन् । त्यस्तै धनपालथान गाउँपालिकाका खजना खातुन र लाडली खातुन पनि घाइते भएका छन् । उनीहरुको रंगेली अस्पताल र स्थानीय स्वास्थ्य संस्थामै उपचार भइरहेको एसपी खड्काले बताए ।

दुर्घटनापछि बसका चालक धनपालथान गाउँपालिका–५ का ५७ वर्षीय हरिनारायण रायलाई नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया