बुधबार, वैशाख १२, २०८१

झापामा सडक दुर्घटनासँगै मानवीय क्षति बढ्दै

नेपालखोज २०७७ माघ ६ गते १३:५६

झापा । झापाका हरेक वर्ष सडक दुर्घटनामा ज्यान गुमाउनेहरूको सङ्ख्या बढ्दै गइरहेको छ । विश्वका औद्योगिक मुलुकहरु ‘ट्रेड वार’ गर्न तम्सिँदै गर्दा हाम्रो जस्तो असमान भौगोलिक अवस्थिति भएका मुलुकमा सडक दुर्घटना मृत्युको कारक तत्व बन्दै गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाकाअनुसार विगत एक वर्षमा जिल्लामा ५४४ वटा सवारी दुर्घटनामा परी ७१ जनाले ज्यान गुमाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका सहायक प्रहरी निरीक्षक यामकुमार खड्काकाअनुसार सवारी दुर्घटना हुनेमा सबैभन्दा बढी मोटरसाइकल छन् । विसं २०७६ पुस महिनादेखि गत पुस मसान्तसम्ममा ३०६ मोटरसाइकल, ४५ ट्रक, ५८ कार, १९ बस, २३ ट्र्याक्टर, २५ टेम्पो, ६३ साइकल र अन्य पाँच गरी ५४४ वटा सवारी दुर्घटना भएको छ । सो सवारी दुर्घटनामा मृत्यु हुनेमा ५८ पुरुष, सात महिला र ६ बालक रहेको उनले जाकारी दिए । उनकाअनुसार दुर्घटनामा परी सशक्त घाइते हुनेमा २५६ जना रहेका छन् । घाइते हुनेमा सबैभन्दा बढी पुरुष २०३, महिला ३७, बालक ११ र पाँच बालिका रहेका छन् ।

सहायक प्रहरी निरीक्षक खड्काले सबैभन्दा बढी दुर्घटना बेलुका करीब ५ देखि ८ बजेको बीचमा हुने गरेको बताए । “चालकले मापसे गर्ने, साँझमा बत्तीको एन्टिलाइट पर्ने, द्रुत गतिमा सवारी चलाउँदा दुर्घटना बढ्यो”, उनले भने। उनले विगतमा भन्दा कोभिड–१९ बढेसँगै सार्वजनिक यातायातमा भन्दा बढी निजी सवारीमा सवार गर्नेको सङ्ख्यामा समेत वृद्धि भएको, साँघुरा सडकसँगै गरिने ओभरटेकका कारण पनि दुर्घटना बढेको अनुसन्धानमा देखिएको बताए ।

विगत १२ महिनामध्ये सबैभन्दा बढी सवारी दुर्घटना गत पुसमा महिनामा भएको र सोही महिनामा मानवीय क्षति पनि बढी भएको उनले जानकारी दिए। पुस महिनामा भएको १६४ सवारी दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । सडकमा अनटेस्ट लेखिएका मोटरसाइकल र सवारी अनुमतिपत्र नै नलिई मोटरसाइकल चलाउनेका कारण पनि साँझपख दुर्घटना हुने गरेको उनको भनाइ छ । “यस्ता सवारीका कारण समस्या आइरहेको छ”, उनले भने, “दुर्घटना गराएर भाग्छन् । मानवीय भावनासमेत नभएका उनीहरुलाई सडकमा सिसी क्यामेरा नहुँदा पहिचान गर्न समस्या भइरहेको छ ।”

प्रतिक्रिया