शनिबार, वैशाख ८, २०८१

रुकुम पश्चिमको आठबीसकोटमा अनिश्चितकालीन निषेधाज्ञा

नेपालखोज २०७७ माघ ६ गते २१:३४

रुकुम । आठबीसकोट नगरपालिकाको मुख्य बजार क्षेत्र राडीमा अनिश्चितकालीन निषेधाज्ञा आदेश जारी गरिएको छ । मङ्गलबार साँझ ५ बजेदेखि अर्को सूचना जारी नभएसम्म जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले निषेधाज्ञा लगाएको हो ।

आठबीसकोटमा नेकपा (दाहाल–नेपाल समुह) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएपछि अवस्था दिनभर तनावग्रस्त भएको थियो । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले चार किल्ला तोकेर निषेधाज्ञा आदेश जारी गरेको बताए । पूर्वमा घारीखोला, पश्चिममा ठूली भेरी, दक्षिणमा सिमबजार र उत्तरमा दाँजेबाट कोही पनि राडीबजार भित्रन नपाउने गरी निषेधाज्ञा लगाइएको बताइएको छ ।

आठबीसकोट नगरपालिकाको ९ नम्बर वडा राडीबजारमा केही समूहबाट अनावश्यक भेला भइ अवाञ्छित गतिविधि गरि शान्ति भङ्ग हुने गरी हुलदङ्गा वा अशान्ति सिर्जना गर्न खोजिरहेकाले निषेधाज्ञा गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

राडी बजारमा नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच दिनभरजसो झडप भएको थियो । दिनभर झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ९ राउण्ड हवाई फायरसमेत गरेको थियो ।

मङ्गलबार नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको विवाद मिलाउन इलाका प्रहरी कर्यालयमा भइरहेको छलफलका क्रममा वडा नम्बर ९ का वडाध्यक्ष तारकबहादुर शाही वडा नम्बर ३ का वडाध्यक्ष केशरमान विक र वडा नम्बर ८ का वडाध्यक्ष मानबहादुर चनाराबाट कुटिएका थिए ।

प्रतिक्रिया