बिहीबार, वैशाख १३, २०८१

संसद् विघटनविरुद्ध भोली विरोध प्रदर्शन गर्ने प्रचण्ड-नेपाल समूहकाे तयारी

नेपालखोज २०७७ माघ ८ गते २०:१८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको सिफारिस गर्ने कदमविरुद्ध नेकपा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले शुक्रबार विरोध प्रदर्शन र सभा गर्दैछन् ।

प्रचण्ड–नेपाल समूहले गत पुस १४ गते पनि यस्तै प्रकृतिको विरोध प्रदर्शनको आयोजना गरेका थिए । त्यसपछि भने आन्दोलन शिथिल बनेको टिप्पणी भएपछि उपत्यकाकेन्द्रित ठूलो सभाको तयारी गरेका हुन् ।

शुक्रबारको प्रदर्शनमा वागमती प्रदेशका विभिन्न जिल्लाबाट करिब एक लाख मानिस काठमाडौं उतार्ने तयारी गरेको केन्द्रीय सङ्घर्ष समितिले जानकारी दिएको छ । काठमाडौंमा विभिन्न ९ स्थानबाट जुलुस निकाल्ने र पुरानो बसपार्कअगाडि सभामा परिणत हुने सङ्घर्ष समितिले तयारी गरेको छ । विभिन्न ठाउँबाट निस्कने जुलुसको नेतृत्वका लागि नेकपा (प्रचण्ड–नेपाल समूह) ले स्थायी कमिटी सदस्यहरूलाई जिम्वेवारीसमेत तोकेको छ ।

माइतीघरबाट निस्कने जुलुसको नेतृत्व स्थायी कमिटी सदस्य गणेश शाह, गिरिराजमणि पोखरेल, मातृका यादव, लिलामणि पोखरेल, हरिबोल गजुरेल र पेशल खतिवडाले नेतृत्व गर्नेछन् । डिल्लीबजार, चारखालबाट निस्कने जुलुसको नेतृत्व वर्षमान पुन र बेदुराम भुसालले गर्नेछन् । लैनचौरबाट निस्कने जुलुसको नेतृत्व भीम रावल, शक्तिबहादुर बस्नेत र नन्दकुमार प्रसाईंले नेतृत्व गर्नेछन् । त्रिपुरेश्वरबाट निस्कने जुलुसको नेतृत्व युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे र देवेन्द्र पौडेलले गर्नेछन् ।

कुपन्डोलबाट निस्कने जुलुको नेतृत्व कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, नन्दकुमार थापाले गर्नेछन् । प्रदर्शनीमार्गबाट निस्कने जुलुसको नेतृत्व घनश्याम भुसाल र जनार्दन शर्माले गर्नेछन् । शान्तिबाटिकाबाट निस्कने जुलुसको नेतृत्व सङ्घर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठ र सहसंयोजक योगेश भट्टराइले गर्नेछन् ।

त्रिचन्द्रबाट निस्कने विद्यार्थीको जुलुस देवप्रसाद गुरूङ, रामकुमारी झाँक्री, लेखनाथ न्यौपाने, हितमान शाक्यले गर्नेछन् । बाल्मिकी क्याम्पस अघिल्तिरबाट निस्कने जुलुसको नेतृत्व अमृतकुमार बोहोरा, मुकुन्द न्यौपाने र विष्णुपुकार श्रेष्ठले गर्नेछन् ।

जुलुस बिहान १०ः४५ बजे सुरु भएर सभामा परिणत हुने जनाइएको छ । सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र घनश्याम भुसालले सम्बोधन गर्ने बताइएको छ ।

प्रतिक्रिया