बिहीबार, वैशाख ६, २०८१

अन्यत्र लगानीका ढोका बन्द भएपछि सेयर कर्जामा बैंकहरुको आकर्षण, एक वर्षमा ३४%ले बढ्यो सेयर कर्जा

नेपालखोज २०७७ माघ ९ गते १०:४६

काठमाडौं । लगानीका अन्य ढोका बन्द जस्तै भएपछि अहिले बैंकहरुको लगानी सेयर बजारमा सोझिएको छ । गत वर्षको तुलनामा बैंकहरुले यस्तो सेयर धितो राखेर प्रदान गर्ने कर्जा ३४ प्रतिशतले बढाएका छन् ।

गत वर्षसम्म सेयर कर्जालाई खासै बैंकहरुले प्राथमिकतामा राख्दैनथे । किन भने गत वर्षको यो समयमा बैंकहरु लगानी योग्य रकमको अभावमा हुन्थे । र, उत्पादन मुलक उद्योगमा नै लगानी गर्नका लागि उनिहरुसँग पर्याप्त रकम हुँदैनथ्यो । अहिले भने अन्य क्षेत्रका लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेकाले बैंकहरुमा पैसा थुप्रिएको छ । यो थुप्रिएको पैसा लगानी गरेर आम्दानी गर्नका लागि बैंकहरुले यसपाली भने सेयर बजारलाई छानेका छन् ।

राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार अहिलेसम्म बैंकहरुले सेयर धितो राखेर मार्जिन प्रकृतिका लोन करिब ६७ अर्ब बराबरको प्रदान गरेका छन् । कात्तिकसम्म ६१ अर्ब लगानी गरेका बैंकहरुले एक महिनामै यस्तो लगानी १० दशमलव छ सात प्रतिशतले बढाएर ६७ अर्ब पुराएका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये मंसिरसम्म आवधिक कर्जा ७.१ प्रतिशतले, ओभरड्राफ्ट कर्जा ६.८ प्रतिशतले र डिमान्ड तथा चालु पुँजी कर्जा ९.९ प्रतिशतले बढेको छ । त्यस्तै रियल स्टेट कर्जा २.६ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा १.६ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ३.३ प्रतिशतले घटेको छ । तर, यहि समयमा सेयर कर्जा भने ३४ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

सेयर क्षेत्रतर्फ प्रवाह गर्ने कर्जा बढेका बेलामा बैंकहरुले यस्तो क्षेत्रको ऋणमा दिने ब्याज भने घटाएका छन् । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा सेयर कर्जाको ब्याजदर करिब ५० प्रतिशत घटेको बैंकरहरु बताउँछन् ।

अहिले बैंक तथा वित्तीय संस्थाले सेयरमा प्रवाह गर्ने कर्जा करिब ७ देखि ९ प्रतिशतमा दिन्छन् । जबकी गत वर्ष यही कर्जा १३ देखि १५ प्रतिशतको हाराहारीमा थियो । सेयर कर्जाको ब्याजदर लगभग पाँच वर्षयताकै कम भएको छ । अन्य क्षेत्रतर्र्फको मत्रै होइन, बैंकमा लगानी योग्य रकम थुप्रिएपछि बैंकहरुले सेयरमा जाने कर्जाको ब्याज समेत घटाएका छन् । साथै अन्य क्षेत्रमा भन्दा यसमा सहजै ऋण गएपछि बैंकहरुको पछिल्लो समय यस्तो क्षेत्रमा आकर्र्षण बढेको छ ।

अहिले बैंकहरुले सेयर लगानीकर्तालाई फोन गरेरै यस्तो कर्जा लिन आग्रह गर्र्ने गरेका छन् । यसअघि २०७२ सालको भूकम्प र नाकाबन्दीका बेलामा बैंकहरुको सेयरमा लगानी बढेको थियो यसपछि फेरी करिब ५ वर्षपछि बैंकहरुको लगानी सेयरमा सोझिएको हो ।

नेपालको सेयर बजार अर्थतन्त्र मजबुत भएका बेलामभन्दा पनि अर्थतन्त्र जर्जर भएका बेलामा बढ्ने गरेको छ । विशेषगरी अन्य क्षेत्रमा लगानी हुन नसकेको र बैंकको ब्याज घटेका बेलामा सेयर बजार बढ्ने गरेको देखिन्छ ।

नेपाल राष्ट्र बैंकले यो वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा पनि बढाएको छ । नयाँ व्यवस्थाअनुसार सेयर धितो राखी प्रवाह हुने कर्जामा वित्तीय संस्थाले धितोको ७० प्रतिशतसम्म प्रदान गर्न पाउँछन् । यसअघि यस्तो सीमा ६५ प्रतिशत थियो ।

बैंकहरुले सेयरमा कर्जा प्रवाह गर्न पाउने सीमा बढेकाले पनि केहि हदसम्म बैंकहरुको यस्तो क्षेत्रमा लगानी बढेको मान्न सकिन्छ ।

प्रतिक्रिया