शुक्रबार, वैशाख १४, २०८१

कांग्रेसद्वारा प्रदेश सरकारविरुद्धका प्रस्तावबारे छलफल

नेपालखोज २०७७ माघ ९ गते १५:४८

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अविश्वासको प्रस्ताव दर्ता भएका प्रदेश नं १ र वाग्मतीका सम्बन्धमा पार्टीको धारणा बनाउन छलफल प्रारम्भ गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले आज आफ्नो निवास बूढानीलकण्ठमा वरिष्ठ नेता रामचन्द्र पौडेलको उपस्थितिमा वाग्मती प्रदेशअन्तर्गतका पार्टी केन्द्रीय सदस्यसँग सो प्रदेशका सम्बन्धमा रायसुझाव लिए ।

सभापति देउवाले प्रदेशका मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव सम्बन्धमा केन्द्रीय सदस्यसँग सुझाव सल्लाह लिएको र कुनै निष्कर्षमा नपुगेको कांग्रेस सहमहामन्त्री डा. प्रकाशरण महतले जानकारी दिए।

छलफलमा सभापति देउवाले सो प्रस्ताव सम्बन्धमा सम्बन्धित प्रदेशका संसदीय दलसँग पनि सल्लाह गर्ने बताए। कांग्रेसको यही माघ १३ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकमा सो विषयमा थप छलफल हुने बताइएको छ ।

प्रतिनिधिसभा विघट्न भएसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको बिवादपश्चात् सोही पार्टीको प्रचण्ड–नेपाल समूहले प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ ।

प्रतिक्रिया