मंगलबार, वैशाख ११, २०८१

यो त कास्टिङ हो, फिल्म शुरु हुन बाँकी छ : नेपाल

नेपालखोज २०७७ माघ ९ गते १५:५४

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले फिल्म शुरु हुन बाँकी रहेको बताएका छन् ।

शुक्रबार संघीय राजधानी काठमाडौंमा प्रचण्ड–नेपाल समूहले गरेको शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै जनआन्दोलनको झल्को आएको बताउँदै अध्यक्ष नेपालले यो कास्टिङ मात्र भएको र फिल्म शुरु हुन बाँकी नै रहेको बताएका हुन् ।

उनले ओलीलाई पार्टीले दण्ड दिन शुरु गरिसकेको समेत बताए । शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै नेपालले ओलीलाई अध्यक्षबाट हटाउनुका साथै साधारण सदस्यबाट किन नहटाउने भनेर स्पष्टीकरण सोधिएको बताए ।

‘उहाँले कतै मैले गल्ती गरेँ भनेर पत्र पो पठाएको छन् कि ? म पनि संसद् पुनर्स्थापनाको आन्दोलन सहभागी हुन्छु भन्नु भएको छ कि ? मैले हाम्रा नेताहरुलाई सोध्न पाएको छैन,’ उनले भने–‘फेरि केपी ओलीसँग झुक्ने काम गर्ने छैनौं ।’

नेपालले कम्युनिष्ट पार्टी सदस्य बन्न योग्य नरहेको र ओलीले असंवैधानिक तबरले कदम चालेकाले उनीहरुसँग मिलेर जाने अवस्था नरहेको प्रस्ट्याएका हुन् ।

‘एउटा कुरा कसैले भ्रममा नराख्नु होस् । फेरि केपी ओलीसँग यो नेकपाले झुक्ने कुनै काम गर्ने छैन । अब फेरि सँगसँगै जाने स्थिति बन्ला भनेर कसैले भ्रम नपाले हुन्छ,’ उनले भने ।

प्रतिनिधिसभा विघटनको विरोध आन्दोलनरत प्रचण्ड–नेपाल समूहले राजधानीका विभिन्न स्थानबाट विरोध जुलुस निकालेका थिए । काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न नौ स्थानमा भेला भएर नेकपाका नेता, कार्यकर्ता तथा स्थानीय जनसमुदायले जुलुस निकालेका थिए ।

प्रतिक्रिया