मंगलबार, वैशाख ११, २०८१

प्रतिनिधिसभा विघटन : संवैधानिक इजलास आज पनि सुनुवाइ हुँदै

नेपालखोज २०७७ माघ ११ गते ९:५६

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनहरुको सुनुवाइ आज (आइतबार) पनि हुँदैछ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले शुक्रबार व्यवसायीहरूको बहस नसकिएपछि सुनवाइ हेर्दाहेर्दैमा आजका लागि तोकेको हो ।

शुक्रबारको सुनुवाइमा अधिवक्ता राजुप्रसाद चापागाईँ, कोपिल प्रसाद अधिकारी, सुलोचना धिताल, उमेश प्रसाद लगायतले बहस गरेका थिए । बहस बहुमत प्राप्त प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको विषय वैधानिक हो या होइन भन्ने विषयमा नै केन्द्रित रहेको थियो ।

सुनुवाइका क्रममा १३ वटा रिटमध्ये ५ वटा निवेदनको सुनुवाइ सकिएको छ । शुक्रबार अधिवक्ता सालिकराम सापकोटाले दायर गरेका पाँचौ नम्बरको रिट निवेदनसम्मको सुनुवाइ सकिएको थियो ।

विषयवस्तु केन्द्रित बहसका क्रममा ३४ जना वकिलहरुले धारणा राखेका छन् । उनीहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक भएकाले त्यसलाई सर्वोच्च अदालतले खारेज गर्नुपर्ने जिकिर गरेका थिए । सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालका अनुसार विघटनको पक्ष विपक्षमा बहस गर्न तीन सयभन्दा भढी वकिलहरुले वकालतनामा लेखाएका छन् ।

शुक्रबारको इजलासमा महान्यायाधिवक्ता अग्नि खरेलले राजपत्रमा प्रकाशित प्रतिनिधिसभा विघटनको सूचना पेश गरेका थिए । रिट निवेदकका तर्फबाट बहस गर्दै अधिवक्ताद्वय टीकाराम भट्टराई र ओमप्रकाश अर्यालले बिहीबार प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना राजपत्रमा प्रकाशन नभएको प्रश्न उठाएपछि उहाँले इजलाशमा सो निवेदन पेश गरेका हुन् ।

न्यायाधीश अनिलकुमार सिन्हाले उक्त निर्णय राजपत्रमा प्रकाशन भए इजलाससमक्ष पेश गर्न आग्रह गरेका थिए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिट निवेदनको आइतबारदेखि एकसाथ सुनुवाइ गरिरहेका छन् ।

प्रतिक्रिया