शनिबार, वैशाख ८, २०८१

विकास निर्माणमा प्रयोग हुने मेसीनरी पार्टपुर्जाको आयातमा कमिले विदेशी मुद्रा सञ्चिति बढ्यो

नेपालखोज २०७७ माघ ११ गते १०:५३

काठमाडौं । विदेशी मुद्रा सञ्चिति बढेको र देशको बाह्य व्यापारको स्थिती पनि राम्रो भएको सरकारको दाबी छ । आँकडामा मात्रै हेर्ने हो भने यो सत्य हो । तर, यसको कारण नियाल्ने हो भने विकास निर्माण सरकारले अघि बढाउन नसकेकाले विदेशी मुद्रा सञ्चिति बढेको देखिन्छ ।

नेपाल राष्ट्र बैंकले हालै मात्रै प्रकाशित गरेको पछिल्लो वित्तिय स्थिती सम्बन्धि प्रतिबेदन हेर्ने हो भने २०७७ असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति मंसिर मसान्तसम्म ५.२ प्रतिशतले वृद्धि भई १४ खर्ब ७४ अर्ब ३४ करोड पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ मंसिर मसान्तमा ७.७ प्रतिशतले वृद्धि भई १२ अर्ब ५४ करोड पुगेको छ ।

त्यस्तै कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड रहेकोमा २०७७ मंसिर मसान्तमा ५.९ प्रतिशतले वृद्धि भई १२ खर्ब ९८ अर्ब ७२ करोड पुगेको छ ।

साथै नेपाल राष्ट्र बैंकबाहेक बैंक तथा वित्तिय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा १ खर्ब ७५ अर्ब ७१ करोड रहेकोमा २०७७ मंसिर मसान्तमा ०.१ प्रतिशतले कमी आई १ खर्ब ७५ अर्ब ६२ करोड कायम भएको छ ।

बैंक वित्त सस्थासँग रहेको विदेशी मुद्रा बाहेक अन्य हेर्ने हो भने सबै हिसाबले बैदेशिक मुद्रा बढेको देखिन्छ । तर, योसँगै के कस्ता बस्तुको आयात घटेको छ त भनेर पनि हेर्न जरुरी छ ।

महामारीका कारण लामो समय सवारी साधन चल्न सकेनन् । जसका कारण तेलको खपतमा कमि आयो । जसका कारण पेट्रोलियम पदार्थको आयातमा नै कमि आएको देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार मेसिनरी तथा पार्टपुर्जा, यातायातका साधन लगायतका बस्तुको आयात घटेको छ । अर्थात् सरकारले विकास निर्माणका काम अघि बढाउन नसक्दा यस्ता बस्तुको आयात घटेको हो ।

पुँजी अभिवृद्धि गर्ने खालका यस्ता बस्तुको आयात घट्नुलाई आर्थिक दृष्टिकोणले त्यति राम्रो मानिदैन । किनभने विदेशी मुद्रा सञ्चिति बढाउने भन्दा पनि भएको मुद्राबाट पुँजी अभिवृद्धि गर्ने खालका समानहरुको आयात गर्नु उचित हुन्छ । जसले भोलिका दिनमा रोजागारी सिर्जना गर्ने मात्रै होइन, उत्पादन समेत गर्न शुरु गर्छ ।

हवाईजहाजका पार्टपुर्जामा पनि कमि आएको छ । लामो समय उडान हुन नसकेकाले यस्ता बस्तुको आयातमा कमि आएको हो ।

भारत सरकारले पाम तेलको आयातमा प्रतिबन्ध लगाएसँगै कच्चा पाम तेलको आयातमा कमि आएको छ । तर, अहिले फेरी व्यापारीले भटमासको तेल प्रशोधन गरि भारत पठाउन लागेकाले कच्चा सोयाबिन तेलको आयात भने बढेको देखिन्छ ।

विकास निर्माणमा प्रयोग हुने सामान आयात कम हुँदा यता उपभोगजन्य बस्तुको आयातमा भने वृद्धि भएको छ । जसको आयात बढ्नु अर्थतन्त्रका लागि त्यति सुखद मानिदैन ।

भन्सार विभागको पछिल्लो तथ्यांक हेर्ने हो भने चामलको आयात बढेको छ । नेपालमा धान उत्पादन बढिरहँदा पनि विदेशबाट नेपालीहरु नेपाल आएकाले चामलको आयात बढाउनु परेको आकलन गर्न सकिन्छ ।

आर्थिक वर्ष २०७७/७८ को पाँच महिनामा कुल बस्तु आयात ९.६ प्रतिशतले घटेर ५ खर्ब २५ अर्ब ५० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४.२ प्रतिशतले घटेको थियो ।

बस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १.१ प्रतिशत, २४.४ प्रतिशत र २०.८ प्रतिशतले घटेको छ ।

आयात घट्यो र वैदेशिक मुद्रा बढ्यो भनेर खुसी हुनेभन्दा पनि के कस्ता बस्तुको आयात घटेर आयात कम भएको हो र वैदेशिक मुद्रा सञ्चिति बढेको हो भनेर केलाउन जरुरी छ ।

प्रतिक्रिया