शुक्रबार, चैत १६, २०८०

सुरक्षाकर्मीको दुरुपयोग रोक्न पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको सुरक्षा कटौती गर्ने तयारी

नेपालखोज २०७७ माघ ११ गते १४:१९

काठमाडौं । सरकारले सुरक्षाकर्मीको दुरुपयोग रोक्नका लागि पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री, पूर्व विशिष्ट व्यक्तिको सुरक्षा कटौती गर्ने तयारी गरेको छ । सुरक्षाकर्मीको दुरुपयोग बढ्दै गएपछि कटौतीको तयारी गरिएको हो ।

मन्त्रिपरिषद्ले केही दिनअघि पारित गरेको विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि २०७७ मा आवश्यकताभन्दा बढी सुरक्षाकर्मी राख्नेबाट शोधभर्ना गर्नेसमेत उल्लेख भएको एक अधिकारीले बताए । स्रोतकाअनुसार नियमविपरीत सुरक्षाकर्मी घरमा राखेमा तलबलगायत अन्य सुविधा सम्बन्धित व्यक्तिले नै बेहोर्नु पर्नेछ । गृह प्रवक्ता चक्रबहादुर बुढाले सुरक्षासम्बन्धी विषय भएकाले यो विषयमा बोल्न नमिल्ने बताए ।

विशिष्ट र पूर्वविशिष्टको सुरक्षामा सबैभन्दा बढी सशस्त्र प्रहरी बलको टोली परिचालित हुँदै आएको छ । सशस्त्रका मात्रै तीन सयभन्दा बढी जनशक्ति पूर्व विशिष्टको सुरक्षामा छन् ।

सबैभन्दा बढी सुरक्षा लिनेमा पूर्वप्रधानमन्त्री र केही गृहमन्त्री छन् । एक उच्च सुरक्षा अधिकारीले भने, “थ्रेटको आकलन हेरर सुरक्षा दिने हो । तर यहाँ त्यस्तो छैन । पूर्व विशिष्टबाटै सुरक्षाकर्मीको दुरुपयोग भएको छ । सबैजना अनुशाशित नहुँदा हामीलाई गाह्रो भएको छ ।”

स्रोतकाअनुसार नयाँ मापदण्डमा पूर्वगृहमन्त्रीहरुलाई पद छाडेको कति वर्षसम्म कति सुरक्षाकर्मी दिने भन्ने पनि उल्लेख छ । नयाँ कार्यविधि कार्यान्वयन गर्न गृहले प्रहरी, सशस्त्र प्रहरी बल र जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिसकेको छ ।

पूर्वविशिष्टहरुले सशस्त्र र नेपाल प्रहरीको दुरुपयोग गरेको आरोप लाग्दै आएको छ । पूर्वप्रधानमन्त्री, गृहमन्त्री, पूर्वसासंद, प्रहरीकै पूर्वअधिकारीले सुरक्षाबाहेक घरको भान्सेदखि चालकसम्म सुरक्षाकर्मी राख्ने क्रम बढेपछि गृहले मापदण्ड नै बनाएर सुरक्षा कटौतीको तयारी गरेको हो ।

प्रतिक्रिया