शुक्रबार, चैत १६, २०८०

महामारीका बेलामा नै स्वास्थ्य मन्त्रालयको खर्च निराशाजनक, ३९ प्रतिशतले घट्यो खर्च

नेपालखोज २०७७ माघ १२ गते ११:२५

काठमाडौं । कोरोना महमारी फैलिएका बेलामा नै सरकारले स्वास्थ्य क्षेत्रमा गर्ने खर्च घटाएको छ । अर्थात् महामारी अघिका बेलामा जति पनि सरकारले यो वर्ष स्वास्थ्य क्षेत्रमा खर्च गर्न सकेको छैन ।

अर्थमन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार गत वर्षको तुलनामा स्वास्थ्य मन्त्रालयले स्वास्थ्यका पूर्वाधारमा गर्ने खर्चमा ३९ प्रतिशतले कमि आएको छ । सरकारले बजेट स्वास्थ्य क्षेत्र लक्षित गरेपनि स्वास्थ्यका खर्चमा भने प्राथमिकता दिन सकेको छैन ।

भौतिक पूर्वाधारका काम सरकारले समयमै अघि बढाउन सकेको छैन । जसका कारण नै स्वास्थ्यका लागि भनेर यो वर्ष छुट्टाएको रकममध्ये जम्मा ५ दशमलव छ शुन्य प्रतिशत मात्रै खर्च भएको छ ।

सरकारले यो वर्ष स्वास्थ्य क्षेत्रका लागि भनेर १५ अर्ब २७ करोड रकम छुट्टाएको छ । तर अहिलेसम्म जम्मा ८५ करोड मात्रै खर्च भएको छ । जबकी २०७६ सालको पुसमा सरकारले अहिलेकै समयसम्म १ अर्ब ४२ करोड रकम खर्चेको थियो ।

अहिले भएको खर्चको प्रवृति हेर्ने हो भने स्वास्थ्य मन्त्रालयले खर्च महामारीको अवस्थामा जति पनि खर्चन सकेको छैन ।

यस्तो बेलामा त धेरै हस्पटिल बनाउनु पर्ने मात्रै हैन अस्पतालमा समेत आवश्यक पूर्वाधार थप्नुपर्ने थियो । तर, मन्त्रालयले यसमा काम अघि बढाउन सकेन ।

हुनत सरकार प्रमुख नै यतिबेलामा महामारी नियन्त्रणभन्दा पनि कुर्चि बचाउमा लागेका छन् । महमारी नियन्त्रण र जनताका आवश्यकता अहिले गौणमा छन् । जसका कारण नै जनताले राजस्व तिरेर जम्मा भएको रकम ढुकुटीमा थुप्रिएको छ । तर, महामारीका बेलामा भने अस्पतालमा आवश्यक पूर्वाधारको निर्माण हुन सकेको छैन ।

सरकारले स्वास्थ्य क्षेत्रमा कुल ९० अर्ब रकम छुट्टाएको थियो । जसमध्ये अहिलेसम्म २४ अर्ब ४८ करोड अर्थात् कुल बजेटको झन्र्ड २६ प्रतिशत हिस्सा खर्च भएको छ ।

चालु खर्च अर्थात् डाक्टर नर्स तथा कर्मचारीका लागि गर्ने खर्च भने निरन्तर भएको छ । किनभने यसका लागि सरकारको पहल समेत आवश्यक पर्देन । तर, जहाँ सरकारको पहल आवश्यकता पर्ने थियो, अर्थात् भौतिक पूर्वाधार निर्माण जस्ता क्षेत्रमा भने सरकारले खर्चन सकेको छैन ।

क्वारेन्टाइन क्षेत्र निर्माणमा त सरकार यसअघि नै चूकिसकेको छ । कैयन मानिसहरुले गोठभन्दा पनि तल्लो खालका झुप्रालाई क्वारेन्टाइन मानेर बस्नु पर्याे ।

अहिले महामारी रहिरहे पनि स्थिती सामान्य बन्दै गएको छ । अर्थात् महामारीको जोखिम रहेपनि कैयन व्यवसाय खुलेका छन् । भोलिका दिनमा फेरी महामारीले भयानक रुप नलेला भनेर यसै भन्न सक्ने स्थिती छैन । जसका लागि सरकारले समयमै अस्पतालहरुको निर्माण गर्नुपर्ने हो ।

सञ्चालनामा रहेका अस्पतालको क्षमता अभिवृद्धि गर्नुपर्ने त छँदै छ । नयाँ अस्पताल समेत निर्माण गर्नु आवश्यक छ । तर, सरकार र यसको नेतृत्वको ध्यान यता पुग्न सकेको छैन ।

महामारीका बेलामा अस्पताल निर्माण गर्न सकेको भएमा जनताले गुणस्तरीय स्वास्थ्य सेवा मात्रै होइन, रोजगारी समेत पाउथे । महामारीका कारण रोजगारी गुमाएका बेलामा कैयनले निर्माण क्षेत्रमा रोजगारी पाउन सक्थे । तर, सरकारको यता ध्यान नै छैन । जनताले सरकारको नेतृत्व तहलाई चयन मात्रै गरेको हैन, राजस्व समेत तिरेर आवश्यक संरचना बनाइदेउ भनेको छ । तर, सरकारको ध्यान जनताको चासोमा हुन नसक्दा अहिले सरकार प्रति नै अविश्वास मात्रै होइन नैराश्यता समेत बढ्दै गएको छ ।

प्रतिक्रिया