बिहीबार, वैशाख ६, २०८१

कोरोना खोपको प्रभावबारे एनएचआरसीले अध्ययन गर्ने

नेपालखोज २०७७ माघ १२ गते १३:५४

काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले भारत सरकारले उपहारस्वरूप दिएको ‘कोभिसिल्ड’ खोपबारे अध्ययन गर्ने भएको छ । एनएचआरसीले खोप लगाएपछि त्यसले पार्ने प्रभावबारे अध्ययन गर्ने भएको हो ।

माघ १४ देखि सुरु हुने भनिएको पहिलो चरणको खोप कार्यक्रमका सहभागीले ‘कोभिसिल्ड’ खोप लगाएसँगै एनएचआरसीले अध्ययन सुरु गर्ने तयारी गरेको छ ।

एनएचआरसीका सदस्य–सचिव एवं कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीका अनुसार परिषद्ले खोप लगाउनेहरूको मात्र नभई खोपको व्यवस्थापन, भण्डारण, ढुवानी, वितरण, प्रयोग तथा प्रभावका बारेमा पनि अध्ययन गर्न लागेको हो । परिषद्ले अध्ययनका लागि छुट्टै निर्देशिका नै बनाएर स्वास्थ्य मन्त्रालयमा बुझाउने तयारी गरेको उनले बताए ।

हाललाई ‘एड्भर्स इफेक्ट फलोइङ इम्युनाइजेसन (एईएफआई)’, खोप लगाएपछि त्यसले देखाउने नकारात्मक प्रभावबारे परिषद्ले अध्ययन गर्ने ज्ञवालीले बताए । साथै खोप भण्डारण, ढुवानी, वितरण र प्रयोग तोकिएको मापदण्डअनुसार भएको छ कि छैन भनेर पनि अध्ययन हुने उनले बताए ।

प्रतिक्रिया