बिहीबार, वैशाख १३, २०८१

प्रधानमन्त्री ओलीको पार्टी धुलो छाप पार्टी : माधव नेपाल

नेपालखोज २०७७ माघ १२ गते १४:२९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी धुलो छाप पार्टी भएको बताएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले ओली समूहले जिल्ला–जिल्लामा गएर केन्द्रीय सदस्यका लागि डमरु बजाएको र त्यसको भुलभुलैयामा नपर्न कार्यकर्तालाई आग्रह गरे ।

ओलीको पार्टीको कुनै काम नभएको बताउँदै उनले भने–‘केपी ओलीको पार्टी धुलो छाप पार्टी हो । कोही नजानुहोला । अस्ति म बर्दिया गएको थिएँ । त्यहाँ त्यो पार्टीका केन्द्रीय सदस्य गमक्क परेर शपथ गरेर फर्केछन् । फर्किंदा–फर्किँदै उनीहरुले भने– त्यता गएर तमासा गरिए छ । केपी ओली गुट मूर्दावाद भनेर घोषणा गर्नुभएछ ।’

‘दर्जनौं मानिस पार्टीको केन्द्रीय कार्यालयमा आएर केन्द्रीय सदस्य चाहिँदैन भनेर सबैको बीचमा घोषणा गर्नुभएको छ । त्यो कुनै पार्टी हो ? त्यो पौवा पनि होइन, धर्मशाला पनि होइन । त्यसको कुनै काम छैन,’ उनले भने–‘सुन्दै छु जिल्ला जिल्ला गएर डमरु बजाउँदै छन्, को आउनुहुन्छ आउनुस्, टिकट लिनुस्, केन्द्रीय सदस्य बन्नुस् भनेर । यो भुलभुलैयामा नपर्नुहोला,’

प्रतिक्रिया