बिहीबार, वैशाख १३, २०८१

काजी बाको निधनप्रति नेकपाद्वारा दुःख व्यक्त

नेपालखोज २०७७ माघ १३ गते २०:१४

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले केन्द्रीय सल्लाहकार समितिका सदस्य खम्बासिंह कुँबर (काजी बा) को निधनप्रति दुःख व्यक्त गरेको छ ।

नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले आज संयुक्त रुपमा वक्तव्य जारी गर्दै नेपाली जनताको मुक्ति र सबै खाले प्रतिक्रियावादका विरुद्ध लड्ने काजी बाको असामयिक निधनको खबरले मर्माहत भएको जनाए ।

वक्तव्यमा भनिएको छ, “उहाँको निधनले हाम्रो पार्टी र सिङ्गो नेपाली कम्युनिष्ट आन्दोलनले एक अथक योद्धा तथा अभिभावक गुमाएको छ । हाम्रो पार्टी कमरेड कुँवरप्रति क्रान्तिकारी अभिवादनसहित भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवार जन तथा आफन्त जनमा गहिरो समवेदना प्रकट गर्दछ ।”

काजी बाको ९४ वर्षको उमेरमा आज बिहान भरतपुरमा निधन भएको थियो । कुँवर विसं १९८४ वैशाख १० गते लमजुङको बाङ्गे–७ मा जन्मिएर चितवन गीतानगर, केशरवागमा बसोबास गर्दै आउनुभएको थियो । उहाँको जन्म बुबा ललितजङ्ग र आमा पुतलीका कान्छा छोराको रुपमा भएको थियो । उहाँका दुई छोरा र चार छोरी हुनुहुन्छ ।

कुँवर भारतीय सेनाको सेवा सुविधालाई छोडेर देश र जनताका निम्ति क्रान्तिमा होमिनुभएको थियो । उहाँले नेपाल कम्युनिष्ट पार्टीको सदस्यता २०११ सालमा लिनुभएको थियो । त्यसपछि उहाँ पार्टीका विभिन्न कमिटीमा क्रियाशील रहँदै विसं २०३१ सम्पन्न चौथो महाधिवेशनबाट वैकल्पिक पोलिटब्यूरो सदस्यमा निर्वाचित हुनुभएको थियो । विसं २०४३ को अन्त्यतिर उहाँ गण्डक ब्यूरोबाट सरुवा भई नारायणी ब्यूरोमा जानुभएको थियो ।

उहाँ जीवनपर्यन्त नेपाली कम्युनिष्ट आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो । कुँवरले नेपाली सर्वहारा वर्ग, मजदूर, किसान, उत्पीडित वर्ग र समुदायको मुक्तिको लागि वर्ग सङ्घर्षलाई अगाडि बढाउने अभियानमा महत्वपूर्ण नेतृत्वदायी भूमिका खेल्नुभएको थियो । अध्यक्षद्वयले नेपाली वर्गीय आन्दोलनमा काजी बाको योगदान नेपाली कम्युनिष्ट क्रान्तिकारीका निम्ति सधैँ प्रेरणादायी र अनुकरणीय हुने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया