बिहीबार, वैशाख १३, २०८१

डा. राजभण्डारीले लगाए कोरोनाविरुद्धको पहिलो खोप

नेपालखोज २०७७ माघ १४ गते १०:५६

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप अभियान आज (बुधबार)देखि नेपालमा सुरु भएको छ ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट भर्चुअल विधिबाट ‘कोभिसिल्ड’ खोपको शुभारम्भ गरेका हुन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज राजभण्डारीले कोरोनाविरुद्धको पहिलो खोप लगाएका हुन् । यस्तै डा. अनुप बास्तोला, रेडियोलोजिस्ट कन्सल्टेन्ट ८० वर्षका नेत्र बहादुर अमात्य, रुना झा लगायतले खोप लगाएका हुन् ।

No description available.

योसँगै आज सातवटै प्रदेशमा रहेका ६२ अस्पताल, उपत्यकाका १७ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृतमा परेका व्यक्तिलाई एकैसाथ खोप दिन सुरु भएको छ । ७७ जिल्लाका ३०० खोप केन्द्रमार्फत खोप प्रदान गरिने छ ।

नेपालमा कोभिड–१९ को संक्रमण देखिएको एक वर्षपछि नेपालीले खोप पाउँदैछन् ।

काठमाडौंमा १२, ललितपुरमा तीन र भक्तपुरमा दुई अस्पतालमा खोप केन्द्र रहनेछन् । भारत सरकारको अनुदानमा यही माघ ८ गते १० लाख खोप नेपाल आएको हो ।

No description available.

स्वास्थ्य मन्त्रालयले पहिलो चरणको खोप अभियान सुरु गरेको १० दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ । पहिलो चरणमा चार लाख ३० हजारलाई खोप प्रदान गरिने छ । कोभिसिल्ड खोप अक्सफोर्ड विश्वविद्यालय र एक्ट्राजेनिका नामक औषधि उत्पादक कम्पनीले संयुक्तरूपमा विकास गरेका हुन् । भारतको सेरम इन्स्टिच्युटले खोप उत्पादन गरेको हो ।

स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका निर्देशक डा. झलक शर्मा गौतमले आज ०.५ मिलीलिटर मात्रा खोप प्रदान गरिने जानकारी दिए । पहिलो खोप लगाएको चार हप्तापछि अर्को मात्राको खोप दिइने छ । खोप देव्रे पाखुराको माथिल्लो बाहिरी भागमा ९० डिग्री कोण बनाएर (मासुभित्र) दिइने छ ।

खोप लगाएपछि सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुनसक्ने, सामान्य ज्वरो आउने, टाउको दुख्ने, थकाइ र आलस्य महसुस हुने तथा वाकवाक लाग्नेजस्ता समान्य असर देखिने उनले बताए ।
खोप ज्वरो आएको वा कोभिड–१९ को लक्षण भएका वा अन्य सक्रिय सङ्क्रमण भएका अवस्थामा र गर्भवती वा सुत्केरी पहिलो खोप लगाउँदा एनाफाइलेक्सिस भएका दोस्रो मात्र नदिने गर्नुपर्दछ ।

प्रतिक्रिया