खोप लगाउँदै ८० वर्षीय अमात्यले भने, भाग्यमानी रहेछु
काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका ८० वर्षीय रेडियोलोजिस्ट डा.चित्रबहादुर अमात्यले कोरोना विरुद्धको खोप लगाएका छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पातलमा खोप लगाए पश्चात् खुसी व्यक्त गर्दै अमात्यले भने भाग्यमानी रहेछु कोरोना महामारी सुरु भएको एक वर्षमै कोरोना विरुद्धको खोप लगाउने सुनौलो अवसर पाए।
जसरी अरु खोप लगाउँदा कुनै पनि डर त्रासलाई मनमा नराखी लगाइन्छ त्यसरी कोरोनाको खोप पनि लगाउन सकिने सन्देश आफूले दिन खोजेको अमात्य बताउँछन् ।
कोरोनाको खोप लगाउन पाएकोमा आफूलाई गौरवान्वित महसुस गरेको बताउँदै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.सागरराज भण्डारीले भने आज दिनभर टेकु अस्पतालबाट मात्रै करिब ३२०० व्यक्तिहरुले कोरोना विरुद्धको खोप लगाउने छन् । उनका अनुसार टेकु अस्पतालमा १३०० कर्मचारी रहेकोमा आज मात्रै २८० जनाले कोरोनाको खोप लगाउदै छन् । अन्य भने आफ्नो नजिकको दूरीमा रहेका अस्पतालहरु जस्तै वीर अस्पताल, ब्लुक्रस अस्पताल, स्वास्थ्य मन्त्रालयका विभिन्न तहमा कार्यरत कर्मचारीहरु तथा फ्रन्टलाइनरलाई दिइने निर्देशक डा.भण्डारीले बताए ।
कोरोना खोप लगाएपश्चात् आफनो अनुभव सुनाउँदै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका कन्सल्टेन्ट डा.अनुप वास्तोलाले भने यस खोपले आजसम्म कुनै पनि दुष्परिणाम देखाएको छैन त्यसले ढुक्कसँग खोप लगाउँदा हुन्छ । उनले भने १८ वर्ष माथिका जसले पनि निर्धक्कसँग यो खोप लगाउनुहोला ।
आज, बुधबार देशभरिबाट नै सुभारम्भ गरिएको कोरोना खोप काठमाडौं उपत्यकामा १२, ललिपुरमा ३ र भक्तपुरमा २ वटा अस्पतालमा खोप केन्द्र रहेका छन् ।
काठमाडौंमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पाल, नेपाल मेडिकल कलेज जोरपाटी, परोपकार प्रसूती तथा स्त्री रोग अस्पताल शहीद धर्मभक्त अङग प्रत्यारोपण केन्द्र, सशस्त्र प्रहरी अस्पताल बलम्बु, शहीद गंगालाल अस्पताल लगायत छन् । ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, किष्ट अस्पताल र आनन्द वन अस्पतालमा खोप केन्द्र रहेका छन् ।
त्यसैगरी भक्तपुरको भक्तपुर अस्पताल तथा कोरियामैत्री अस्पतालमा खोप केन्द्र रहेका छन् ।
प्रतिक्रिया