शनिबार, माघ १२, २०८१

खोप कार्यक्रम निरीक्षण गर्न विभिन्न अस्पताल पुगे प्रधानमन्त्री ओली

नेपालखोज २०७७ माघ १४ गते १६:३४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाका विभिन्न अस्पतालको निरीक्षण गरेका छन् । बुधबार बिहानदेखिसुरु भएको कोरोना खोप कार्यक्रम निरीक्षण गर्न प्रधानमन्त्री ओली उपत्यकाका विभिन्न अस्पताल पुगेका हुन् ।

Advertisement

प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल, नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका अस्पताल पुगेर खोप कार्यक्रमको निरीक्षण गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए ।

बुधबारदेखि सरकारले देशव्यापी रुपमा कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको छ । पहिलो चरणको अभियान अन्तर्गत देशभरका स्वास्थ्यकर्मी लगायत अग्रपंक्तिमा रहेर कोरोनाविरुद्ध कार्यरतहरुलाई खोप दिइँदैछ ।

यसैगरी हालसम्म २ हजार ९०१ जनाले कोरोना खोप लगाएका छन् । सातै प्रदेशमा हालसम्म २९०१ जनाले कोरोनाविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले बुधबार अपराह्न विज्ञप्ति जारी गर्दै देशभरका करिब ३०० खोप केन्द्रबाट २९०१ जनाले खोप लगाइसकेका छन् । जसमा प्रदेश १ मा १२७, प्रदेश २ मा ५४०, बाग्मतीमा १००२, गण्डकीमा ३०६, लुम्बिनीमा २२३, कर्णालीमा ३९८ र सुदूरपश्चिममा ३०५ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

बुधबार बिहानबाट सातवटै प्रदेशमा रहेका ६२ अस्पताल, उपत्यकाका १७ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृतमा परेका व्यक्तिलाई एकैसाथ खोप दिन सुरु भएको हो । ७७ जिल्लाका ३०० खोप केन्द्रमार्फत खोप प्रदान गरिने छ ।

त्यस्तै, काठमाडौंमा १२, ललितपुरमा ३ र भक्तपुरका दुई अस्पतालमा खोप केन्द्र रहनेछन् ।

प्रतिक्रिया