शुक्रबार, चैत १६, २०८०

प्रधानमन्त्री कप : पुलिस क्लबलाई पराजित गर्दै एपीएफ फाइनलमा

नेपालखोज २०७७ माघ १४ गते २०:२१

काठमाडौं । सशस्त्र प्रहरी बलको एपीएफ क्लब नेपाल पुलिस क्लबलाई पराजित गर्दै चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न खेलमा एपीएफले पुलिसलाई ३० रनले हराएको हो । टस हारेर ब्याटिङ गरेको एपीएफले ५० ओभरमा नौ विकेट गुमाएर २०३ रन बनाएको थियो । एपीएफले दिएको २०४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पुलिस ४९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै १७३ रन मात्र बनायो ।

एपीएफका लागि शङ्कर रानाले ४४, भुवन कार्कीले ४२, सन्दीप जोराले ३४, सुवास खकुरेलले १९, कमलसिंह ऐरीले १९, कप्तान शरद भेषवाकरले १८ तथा अविनास बोहराले ११ रन बनाए। बलिङतर्फ पुलिसका आरिफ शेखले तीन तथा ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले दुई /दुई विकेट लिए । पुलिस क्लबका लागि ब्याटिङ गर्ने क्रममा पवन सर्राफले सर्वाधिक ४० रन बनाए ।

त्यस्तै राशिद खानले ३४, ऐरीले ३३, अनिल साहले २१, आरिफ शेखले १६ तथा सागर ढकालले ११ रन बनाए। बलिङतर्फ एपीएफ क्लबका भुवन कार्कीले चार तथा कमलसिंह ऐरी, अविनाश बोहोरा र शरद भेषवाकरले दुई दुई विकेट लिए। एपीएफले अब त्रिभुवन आर्मी क्लब र वाग्मती प्रदेशबीचको विजेतासँग उपाधिका लागि खेल्ने छ ।

प्रतिक्रिया