आइतबार, वैशाख ७, २०८२

आजदेखि देशभरका पालिकामा मतदाता नामावली अद्यावधिक कार्यक्रम सुरु हुँदै

नेपालखोज २०७७ माघ १५ गते १३:३०

काठमाडौं । निर्वाचन आयोगले आजदेखि देशैभरका पालिकामा मतदाता नामावली अद्यावधिक कार्यक्रम सुरु गर्दैछ । आज सबै पालिकाहरुको केन्द्रमा मतदाता नामावली गर्न सूची प्रकाशित हुने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । उनकाअनुसार आज पालिकाहरुका केन्द्रमा मतदाता नामावलीका सूची प्रकाशित हुनेछ ।

भोलि र पर्सि दुई दिन यो नामावलीमाथि दाबी विरोध गर्न पाइनेछ । नामथर त्रुटि भएमा सच्याउन निवेदन दिने, ज्यान गुमाएका वा बसाइ सरेर गएका र दोहोरो नाम रहेका मतदाताको नाम हटाउन सूचना दिने तथा झुटो विवरण दिएर कोही कसैले मतदाता नामावलीमा नाम समावेश गरेको भए त्यसविरुद्ध उजुरी दिन सकिने आयोगका प्रवक्ता श्रेष्ठले जानकारी दिए।

आउँदो २१ गतेसम्म नामावली अद्यावधिक गरिने उनले बताए । यसपछि मतदाताको नामावली जिल्ला जिल्लामा पुग्ने छ र जिल्लाले निर्वाचन आयोगमा मतदाता नामावली पठाउने छ। आयोगले २०७७ पुस ५ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिहरुको मतदाता नामावली अद्यावधिक गरी अन्तिम मतदाता नामावली तयार गर्न कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको हो ।

आउँदो वैशाख १७ र २७ गतेका लागि सरकारले घोषणा गरेको चुनावको लागि आयोगले तयारी गरिरहेको छ । तर, प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवदेनमाथि अहिले संवैधानिक सुनुवाइ भइरहेकाले चुनाव हुने नहुनेमा अन्योल छ ।

प्रतिक्रिया