सोमबार, वैशाख ८, २०८२

ओलीलाई स्पष्टीकरण सोधेर पार्टीबाट निकाल्ने माधव नेपालको चेतावनी

नेपालखोज २०७७ माघ १५ गते १८:४५

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले अब केपी शर्मा ओलीलाई स्पष्टीकरण सोधेर पार्टीबाट निकाल्ने चेतावनी दिएका छन् ।

प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै नेकपा प्रचण्ड–माधव समूहले विहिबार रूपन्देहीको बुटवलमा आयोजना गरेको विरोधसभामा प्रचण्ड–माधव समूहका अध्यक्ष समेत रहेका नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन नेकपा एमालेको नवौं महाधिवेशनमा जालझेल गरेर अध्यक्ष भएकामेत आरोप लगाएका छन्।

उनले बाह्रबुँदे सहमतिको प्रसंगसमेत झिक्दै गणतन्त्रको कुनै कार्यक्रममा ओली सहभागी हुन नचाहेका पनि बताए। गोरुगाढा चढेर गणतन्त्र जाने ओलीको अभिव्यक्तिप्रति नेपालले चुनाव हुन्छ भन्ने ओलीको भविष्यवाणी गलत हुने दाबी गरे। ‘केपी ओलीले समय बुझेनन्, त्यो खुबी ओलीमा छैन। उनले कुनै पनि परिवर्तनको अगुवाइ गरेका छैनन्। जहिले पनि पछाडि बस्ने र टीकाटिप्पणी गर्ने, जहिले पनि खुट्टा ताने भन्ने, अनि काम गर्नुस्, भन्दा खाली बकबक मात्र गर्ने काम गरे।’

उनले थपे, ‘केपीलाई रिस उठ्यो पत्रकारलाई गाली गर्‍या छ। वरिष्ठ अधिवक्तालाई गाली गर्या छ, अपमान गर्या छ। आफ्नै मन्त्रीलाई पनि गाली गर्या छ। म त्यो गाली सबै सुनाउन चाहन्न। उहाँले के-के भन्नुभयो त्यो पेस गर्न चाहन्न। उहाँले कहाँ कहाँ के-के भन्दै हिँड्नु भएको छ, हजार जिब्रा भएका शेष नागले पनि भन्न सक्दैन। उहाँलाई कुनै पनि राम्रो कुरा मन पर्दैन, प्रशंसा मात्र मनपर्छ उहाँलाई।’

केपी ओलीलाई राम्रो संस्कारको उदाहरण बन्न पनि नेपालले आग्रह गरे। नवौं महाधिवेशनमा जालझेल गरेर मात्र जितेका भन्दै त्यै पनि आफूले मान्दिएको उनले बताए। उनले प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दै भने, ‘महाधिवेशनमा हारेर माधव नेपाल अध्यक्ष बन्न आए रे! प्रधानमन्त्रीलाई लाज लाग्दैन?’

केन्द्रीय सदस्यमा विरोध हुँदाहुँदै पनि आफूले ओलीलाई प्रधानमन्त्री बनाइदिएको उनले खुलाए। ओलीले घोचपेच गर्ने खालका कुरा मात्र मन पराउने गरेका नेपालले टिप्पणी गरे।’मैमत्त प्रवृत्ति ओलीमा हाबी छ, यसलाई नै निरकुं‌श र तानशाही प्रवृत्ति भएको भनिन्छ।’ केपी ओलीलाई इतिहासले हुत्याएर फाल्दिने भन्दै उनले नेकपाका ४४१ केन्द्रीय सदस्यलाई मात्र चिन्ने र अरु अमान्य भएका पनि बताएका छन् ।

प्रतिक्रिया