मंगलबार, वैशाख ११, २०८१

‘आर्थिक अभावका कारण गरिब उपचारबाट बञ्चित हुन नपरोस्’

नेपालखोज २०७७ माघ १६ गते ७:३०

काठमाडौं । ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ३७ वर्ष पुरानो अस्पताल हो । शान्त भवन अस्पताल र पाटन जिल्ला अस्पताल गाभिएर २०३९ कात्तिक २३ मा पाटन अस्पतालको स्थापना भएको थियो । यो अस्पताल २०६४ माघ २३ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिणत भएको हो ।

१ सय ३८ शय्याबाट सेवा सुरु भएको यस अस्पतालमा हाल ५ सय ९८ शय्या क्षमता छ । ५२ रोपनी क्षेत्रफलमा फैलिएको अस्पतालमा दैनिक करिब १२ सयदेखि २ हजार हाराहारीमा बिरामी उपचारका लागि पुग्छन् । यस अस्पतालमा उपलब्ध सेवा, भावी योजना र चुनौतीबारे अस्पतालका निर्देशक डा. रवि शाक्यसँग नेपालखोजकी सम्वाददाता लक्ष्मी चौलागाईंले गरेकाे कुराकानीको सारसंक्षेप :

अस्पतालमा हाल के–के सेवा उपलब्ध छन् ?
जेनेरल अनि इन्टरनल मेडिसिन, सर्जरी, स्त्रीरोग, बालरोग, दाँतसम्बन्धी सेवा पहिलेदेखि नै थिए । अहिले सेवाहरु थपिँदै अर्थोपेडिक, डर्माटोलोजी, रेडियोलोजी सेवाहरु पनि उपलब्ध छन् । यहाँ बाथ रोगको उपचार पनि हुन्छ । डायलाइसिस, ग्यास्ट्रोलोजी, कार्डियोलोजी, प्याथोलोजी, इन्डोस्कोपी, किमोथेरापीलगायत सेवा छन् भने इएनटी र आँखासम्बन्धी उपचार पनि हुन्छ । तर, हामीले न्युरो सर्जरी र कार्डियोथोरासिक सेवा भने सुरु गर्न सकेका छैनौं । आँखाको सामान्य उपचार भएपनि अप्रेसन सेवा छैन् । यो सेवा पनि सुरु गर्ने तयारी छ ।

यो अस्पतालको सबैभन्दा राम्रो मानिएको सेवा कुन हो ?
हामीले सबै सेवा राम्रो दिएका छौं भन्ने लाग्छ । तर, बिरामीको सुझाव र कुराहरु सुन्दा स्त्री रोगसम्बन्धी र बालरोगको सेवा धेरै राम्रो भएको पाउँछौ । शिशुको लागि एनआइसियु, पिआइसियु सेवा यस अस्पतालमा भएकाले हामीले जटिल अप्रेसन पनि सफल रुपले गर्न सकेका छौं ।

अस्पतालको सेवा प्रवाहमा के–कस्ता चुनौती छन् ?
१ सय ३८ शय्याबाट सुरु भएको अस्पताल हो, यो । अहिले बिरामीको चाप बढ्दो छ । सेवा पनि थपिँदै छन् । तर, ठाउँ त्यही हो । त्यसैले हामीले ठाउँको अभावबारे भनिरहेका छौं । १ सय ३८ शय्याबाट सुरु भएको अस्पतालमा शय्या क्षमता ५ सय ९८ पुगेको छ । पहिले ४–५ सय जति बिरामी आउँथे भने अहिले दैनिक २ हजार बिरामी आउँछन् । योसँगै प्रतिष्ठान भएकाले यहाँ शैक्षिक गतिविधि पनि बढेको छ । अनि रिसर्च प्रोजेक्ट पनि छ ।

सबै बढ्यो तर ठाउँ त्यही भएकाले सेवा दिन अप्ठ्यारो भइरहेको छ । अर्को भनेको हामीले सरकारबाट वार्षिक ६/७ करोड अनुदान पाउँछौ । जुन विभिन्न उपकरण किन्न र कन्स्ट्रक्सनमा खर्च गर्नुपर्छ । दैनिक खरिद गरिने सामान, कर्मचारीको तलब सुविधाहरु भने बिरामीबाट लिएको पैसाबाट गर्छौं । त्यो बाहेक हामीले वर्षमा एक करोडभन्दा बढी रकम सामाजिक सेवामा पनि छुट्टै खर्च गर्छौं ।

पाटन अस्पतालको मुख्य उद्देश्य भनेको कुनै पनि गरिब तथा असहाय बिरामीले आर्थिक अभावका कारण उपचारबाट बञ्चित हुन नपरोस् भन्ने हो । तर, पैसा तिर्न सक्नेले तिर्नु पनि पर्छ । त्यसैले हामीले अस्पतालमा प्राइभेट वार्ड क्लिनिक पनि सञ्चालन गरेका छौं । किनभने, हामी आफैं कमाएर अघि बढ्नु पर्ने हुन्छ । हाम्रो मुख्य समस्या भनेको ठाउँ अभाव नै हो । ओपिडीलाई व्यस्थित बनाऔं, बिरामीलाई राम्रोसँग बस्ने व्यवस्था मिलाउँ भने पनि सकिरहेका छैनौं । जुन ठाउँमा मानिसको चाप बढी हुन्छ, त्यहाँ व्यवस्थापन पनि निकै गाह्रो हुन्छ ।

जग्गा उपलब्ध गराउनुपर्ने तपाईंहरुको माग हो ?
सरकारले कुनै ठाउँमा जग्गा उपलब्ध गराइदियो भने सारै राम्रो । नभए पनि यही ठाउँमा बहुतले भवन बनाउने सोचमा छौं । यसमा हामीले केहि प्रक्रिया अघि बढाएका छौं । सरकारले यसलाई सकारात्मक लिएर आर्थिक सहयोग र अनुमति दिए हामीलाई अघि बढ्न थप सहज हुन्छ । किनभने, अस्पताल धेरै टाढा लगेर राख्नु पनि बिरामीको लागि सहज नहुन सक्छ । जसरी हुन्छ, यही ठाउँमा धेरै सेवा दिन पाए राम्रो हुन्थ्यो । त्यसैले मुख्य भनेको हामीलाई ठाउँ चाहियो, नभए यही नै बहुतले भवन बनाउनका लागि सरकारले अनुमति दिएर सहयोग गरे धेरै सेवा–सुविधा उपलब्ध गराउन सकिन्छ ।

अस्पतालको भावी योजना के छ ?
सबैभन्दा पहिले त ठाउँकै कुरा आउँछ । हामी छिट्टै पेडियाट्रिक हेमाटोलोजी र अंकोलोजी सेवा थप्ने तयारीका साथ अघि बढिरहेका छौ । न्युरो सर्जरी, कार्डियोथोरासिक सेवा सुरु गर्ने योजना हो । तर, यसका लागि अप्रेसन थिएटरदेखि बिरामी राख्न सक्ने ठाउँ पनि चाहिन्छ । ठाउँ अभावले हामीले जुन हिसाबले सेवा प्रवाह गर्न सक्छौं, त्यो गर्न गाह्रो भइरहेको छ । त्यसैले ठाउँ अभाव हुँदा पनि हामीले अन्य केही सेवा विस्तार गर्न सकेका छैनौं ।

प्रतिक्रिया