मंगलबार, जेठ १, २०८१

९० लाख ठगी गर्ने पर्वतको ठग धीरजकुमार पक्राउ

नेपालखोज २०७७ माघ १६ गते १६:३५

काठमाडौं । क्यानडा लगायत विकसित देश पठाइदिन्छु भनेर ठगी गर्ने एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

उनले सर्वसाधारणसँग करिब ९० लाख रुपैयाँ ठगी गरेको आरोप छ ।

पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका वडा नम्बर ७ स्थायी घर भई पोखरा महानगरपालिका वडा नम्बर ३० सिसुवा बस्ने वर्ष ३८ का धीरजकुमार विश्वकर्मा रहेका छन् ।

उनी पहिले खाडी मुलुक बसेर आएका थिए । उनले आफू पहिल्यैदेखि विदेश बसेको र अरुलाई पनि पठाउन सक्ने भन्दै पैसा असुल गरेका थिए । कास्की प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले धीरजले ३३ जनाबाट करिब ९० लाख रुपैयाँ ठगी गरेको बताएका छन् ।

विश्वकर्माले कास्की, स्याङ्जा, तनहुँ, म्याग्दी लगायत जिल्लाका व्यक्तिहरुबाट पैसा उठाएका थिए । उनीविरुद्ध १२ माघमा कास्की प्रहरीमा उजुरी परेको थियो । थुप्रै जनासँग उनले पासपोर्ट पनि लिएका थिए । भिसा लिन दिल्ली जानुपर्ने भन्दै आश्वस्त पार्दै आएका थिए । उनी माघ १३ गते पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया