आइतबार, वैशाख २३, २०८१

प्रधानमन्त्रीको शिलान्यास कार्यक्रम भरतपुर महानगरले बहिष्कार गर्ने

नेपालखोज २०७७ माघ १७ गते १२:२१

काठमाडौं । चितवनको भरतपुरमा निर्माणधीन सिटी हल र ६ लेन सडकखण्डको शिलान्यास कार्यक्रम भरतपुर महानगरले बहिष्कार गर्ने भएको छ ।

महानगरले शुक्रबार पत्रकार सम्मेलन गरी शिलान्यास कार्यक्रम बहिष्कार गर्ने जानकारी गराएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिटी हल र ६ लेन सडकखण्ड शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।

आफूहरुको समन्वय बिनानै शिलान्यास कार्यक्रम राखिएको भन्दै कार्यक्रम बहिष्कार गरिएको महानगर प्रमुख रेनु दाहालले बताइन् । ‘हामीलाई कार्यक्रमबारे निमन्त्रणा पनि छैन, समन्वय पनि गरिएको छैन, महानगर कार्यक्रममा सहभागि पनि हुँदैन’–पत्रकार सम्मेलनमा प्रमुख दाहालले भनिन् ।

प्रमुख दाहालले भनिन् ती दुई परियोजनालाई यसअघि नै शिलान्यासको लागि पटक–पटक संघीय सरकारलाई आग्रह गर्दा पनि बेवास्ता गरिएको भन्दै अहिले जस लिनका लागि देखावटी काम भइरहेको आरोप लगाइन् । ‘पटक–पटक आग्रह गर्दा कसैले टेरेनन्, अहिले काम चलाउ सरकारले शिलान्यास गर्दै हिड्नुको उद्देश्य के हो ? राज्यको साधान स्रोतको दुरुपयोग भइरहेको छ’ ।

प्रतिक्रिया