तल्लो अरुण जलविद्युत् परियोजना भारतीय कम्पनी सतलजलाई दिने सरकारको निर्णय

काठमाडौं । सरकारले ६ सय ७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत परियोजना निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको ४६ औं बैठकले सो निर्णय गरेको हो ।
तल्लो अरुण जलविद्युत् परियोजना सार्वजनिक–निजी साझेदारी अवधारणाअन्तर्गत बुट मोडलमा निर्माण गर्न बैठकले भारतीय कम्पनी सतलज जलविद्युत निमग लिमिटेडलाई छनौट गरेको हो ।
जस अनुसार यो आयोजना सतलजले निर्माण गरेर सञ्चालन गर्ने छ, र निश्चित समयपछि सरकारलाई हस्तान्तरण गर्ने छ । भारत सरकारको स्वामित्व रहेको सतलजले ९ सय मेगावाट क्षमताको अरुण तेश्रो जलिवद्युत आयोजना पनि निर्माण गरिरहेको छ । त्यसैले उसले तल्लो अरुण पनि आफूले पाउनुपर्ने अडान राख्दै आएको थियो ।
गत वर्षको भदौमा नेपाल भ्रमणमा आएका भारतीय ऊर्जा राज्यमन्त्री राजकुमार सिंहले भारतले अरुण तेस्रोको ढाँचामा नै तल्लो अरुण निर्माण गर्ने प्रस्ताव गरेका थिए । तल्लो अरुण जलविद्युत परियोजना संखुवासभा र भोजपुर जिल्लामा बन्ने छ ।
सरकारले भारतीय कम्पनीलाई दिन लागेको तल्लो अरुण आयोजनामा चीनको पनि चासो छ । चिनियाँ कम्पनी पावर चाइना कर्पोरेसनले जलविद्युत लगानी तथा विकास कम्पनी एच आई डी सी एलसँग साझेदारी गरेर यो आयोजना बनाउने प्रस्ताव गरेको थियो ।
यस्तै बैठकले लगानी बोर्डमा विशेषज्ञका रुपमा राजेशकाजी श्रेष्ठ, हरिभक्त शर्मा र भवानी राणा एवं आमन्त्रित सदस्यको रुपमा बालकृष्ण शिवाकोटीलाई मनोनयन गर्ने निर्णय गरेको छ ।
बैठकमा अघिल्लो बोर्ड बैठकले निर्देशन गरेबमोजिम लगानी बोर्डको रणनीतिक योजना, परियोजना बंैक, बेवमा आधारित एकलबिन्दु सेवा र अन्य प्रगतिबारे प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी गराएका थिए ।
प्रतिक्रिया