आइतबार, वैशाख २३, २०८१

कैलालीमा प्रचण्ड–नेपाल समूहको वृहत् प्रदर्शन

नेपालखोज २०७७ माघ १७ गते १३:५३

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आज (शनिबार) कैलालीको धनगढीमा वृहत् शक्ति प्रदर्शन गर्ने भएको छ ।

प्रदेश कमिटीको बैठकको निर्णय अनुसार आजको विरोधसभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम छ । नेता भीम रावलका अनुसार प्रदेश कमिटीको आयोजनामा प्रदेशस्तरीय वृहत् विरोध प्रदर्शन र जनसभा गर्न लागिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध वृहत् प्रदर्शन गर्न लागिएको नेता रावलले जानकारी दिए । प्रचण्ड–नेपाल समूहले धनगढीमा हुने शक्ति प्रदर्शनमा ५० हजार कार्यकर्ता सहभागी हुने दाबी गरेको छ ।

आज धनगढीमा प्रदर्शन सकेपछि शक्ति प्रदर्शन कार्यक्रम काठमाडौँ केन्द्रित गर्ने यो समूहको तयारी छ ।

माघ २८ गते एक लाखभन्दा धेरै कार्यकर्ता उतारेर काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनविरुद्ध शक्ति प्रदर्शन गर्ने नेकपा प्रचण्ड–नेपाल समूहले दाबी गरेको छ ।
यसअघि शुक्रबार विराटनगरमा शक्ति प्रदर्शन गरेको प्रचण्ड–नेपाल समूहले बिहीबार बुटवलमा शक्ति प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया