आइतबार, वैशाख २३, २०८१

मनाङको तल्लो भेगमा डढेलोको वितण्डा, ८ सय हेक्टरभन्दा बढी क्षेत्र नष्ट

नेपालखोज २०७७ माघ १८ गते १०:१२

लमजुङ । मनाङको तल्लो भेगमा फेरी डढेलो लागेको छ । तल्लो भेग ताचै, थोंचे र तिल्चे क्षेत्रमा डढेलोले वितण्डा मच्चाएको हो ।

यसअघि मंसिर ११ बाट कोतो र थान्चोकपारिको जंगलमा लागेको डढेलो माघ पहिलो साता ताचै क्षेत्रबाट नियन्त्रणमा लिइएको थियो ।

त्यसको एक सातापछि ताचैमै जोडिने गरी अर्को डढेलो लागेको हो । तिल्चे क्षेत्रबाट नेकों डाँडा हुँदै डढेलो गाउँनजिक आएको नासों गाउँपालिका–८ ताचैका सोलबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार यसअघिको भन्दा अहिलेको डढेलो डरलाग्दो रहेको छ ।

वडाध्यक्ष हुपजंग गुरुङले गाउँतर्फ सोझिएको आगो मात्र निभाउन सकेको बताए । यसमा गाउँले, प्रहरी, सेना खटिएका थिए । डढेलोले पूरै पहाड सखाप पारेको छ । डढेलोका कारण धूवाँ गाउँसम्म फैलिएकाले हिँडडुलमा समेत समस्या भएको उनले बताए ।

नासों गाउँपालिका–६ तिल्चेस्थित हिमज्योति आधारभूत विद्यालयका निमित्त प्रधानाध्यापक गुणराज गुरुङले तिल्चे गाउँबाट डढेलो ग्वाखोलाको किनारी क्षेत्र हुँदै सिक्ले लेकतर्फ सोझिइरहेको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले माघ १३ बाट तिल्चे र थोंचेको बीच दूधखोलाको सीमा क्षेत्रबाट डढेलो फैलिएको पुष्टि गरे ।

उनले भौगोलिक कठिनाइका कारण डढेलो नियन्त्रणमा लिन नसकिएको बताए । उनका अनुसार डढेलो वनक्षेत्र सखाप पार्दा बहुमूल्य जडीबुटी यार्चागुम्बु, निरमसी, पाँचऔंले, जटामसी, वनलसुनलगायत नष्ट भएको छ । हिउँचितुवा, कस्तूरी, घोरल, झारललगायत वन्जयन्तुको बासस्थानसमेत जलेको छ । केही वन्यजन्तु मरेको हुन सक्ने उनको अनुमान छ ।

डढेलो ३ हजार ५ सय मिटर उचाइसम्म फैलिएको छ भने ८ सय हेक्टरभन्दा बढी क्षेत्र डढेलोले नष्ट पारेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए ।

प्रतिक्रिया