आइतबार, वैशाख २३, २०८१

ईश्वर पोखरेलको गाडीमाथि ढुंगा प्रहार

नेपालखोज २०७७ माघ १९ गते १२:१४

काठमाडौं । नुवाकोटमा उपप्रधानमन्त्री ईश्वर पोखरेल चढेको गाडीमाथि प्रचण्ड नेपालसमूहका कार्यकर्ताले ढुंगा प्रहार गरेका छन् ।

ओली पक्षको कार्यक्रमलाई सम्बोधन गर्न नुवाकोट पुगेका उपप्रधानमन्त्री पोखरेलको गाडीमाथि लक्षित गरी तोडफोड गरिएको नुवाकोट प्रहरीले जनाएको छ । ढुंगा प्रहार हुँदा पोखरेलको गाडीमा नलागेपनि अन्य गाडीहरु भने तोडफोड भएका छन् ।

नेकपा नुवाकोट जिल्ला कमिटी संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा उपप्रधानमन्त्री पोखरेल नुवाकोट पुगेका थिए । पोखरेलको उनको गाडीमाथि नेकपा प्रचण्ड नेपाल पक्षका विद्यार्थी युवाहरुले ढुंगा प्रहार गरेका हुन् ।

अहिले सुरक्षा सतर्कतालाई ध्यानमा राख्दै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्न उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालसहित पोखरेल नुवाकोट गएका थिए ।

नुवाकोट क्याम्पसअगाडि कालो झण्डासहित युवा विद्यार्थीहरुले प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया