सोमबार, वैशाख २४, २०८१

पेट्रोलियम पदार्थ तस्करी गरी ल्याउँदै गरेको अवस्थामा तीन जना पक्राउ

नेपालखोज २०७७ माघ १९ गते १४:०८


सप्तरी । सप्तरी प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट पेट्रोलियम पदार्थ तस्करी गरी ल्याउँदै गरेको अवस्थामा तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार नेपाल–भारत सीमा क्षेत्रबाट पेट्रोलियम पदार्थ तस्करी गरी ल्याउँदै गरेको छिन्नमस्ता गाउँपालिकाका सुरेन्द्र यादव, अरविन्द मण्डल र लालबाबु मण्डललाई आज पक्राउ गरिएको हो ।

दुई मोटरसाइकल र एक साइकलमा गरी १०० भन्दा बढी लिटर डिजल अवैध रुपमा तस्करी गरी ल्याउँदै गरेको अवस्थामा तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले बताए ।

पेट्रोलियम पदार्थको तस्करी गरिरहेको अवस्थामा पक्राउ गरिएका तीनै जनालाई इलाका प्रहरी कार्यालय सखडामा राखी उनीहरुमाथि कानूनी प्रक्रिया अघि बढाएको प्रनाउ साहले जानकारी दिए । गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले तीनै जनालाई दशगज्जा क्षेत्रबाटै नियन्त्रणमा लिएको थियो ।

नेपालबाट डिजल खरिद गरी भारततर्फ पुर्याइरहेको सूचना पाइएकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

यता पक्राउ परेकाको रिहाइको माग गर्दै स्थानीयले इलाका प्रहरी कार्यालय छिन्नमस्ता सखडा घेराउ गरी प्रदर्शन गरेका थिए । पेट्रोलियम पदार्थसहित प्रहरीले नियन्त्रणमा लिएपछि स्थानीय आन्दोलित भएका हुन् ।

प्रतिक्रिया