आइतबार, वैशाख २३, २०८१

सभामुख सरकारको छायाँ बन्न पाइँदैन

नेपालखोज २०७७ माघ १९ गते १४:२९

हेटौँडा । बागमती प्रदेशसभा सचिवालयमा नेकपा प्रचण्ड–माधव समूहका सांसद्ले सोमबार बिहान नाराबाजी गरेका छन् । उक्त समूहले प्रदेशसभाका सभामुख अल्पमतको सरकारको लाचार छाया बनेको टिप्पणी गर्दै आन्दोलनमा उत्रेको हो ।

आइतबार राति ९ः१७ बजे प्रदेशसभा सचिवालयले आकस्मिक रुपमा बैठक सरेको सूचना जारी भएपछि नेकपा प्रचण्ड–माधव समूहका सांसद्हरु सभामुख सानुकुमार श्रेष्ठ र सरकारविरुद्ध चर्को नाराबाजी गरेका हुन् । आगामी बैठक फागुन ५ गतेलाई सरेको छ ।

आइतबार साँझ प्रदेशसभा स्थगित गरेको सूचना जारी गरेपछि सोमबार बिहान विरोधमा पत्रकार सम्मेलन गर्दै प्रचण्ड–माधव समूहका नेता अष्टलक्ष्मी शाक्यले सभामुख सानुकुमार श्रेष्ठको भूमिका संविधानविपरीत भएको बताइन् ।

बैठक स्थगित गरेपछि नेतृ अष्टलक्ष्मी शाक्यले विज्ञप्ति जारी गर्दै २०७७ साल माघ १९ गते बोलाइएको प्रदेशसभाको बैठक २०७७ माघ १८ गते राति ९ः१५ बजेको विद्युतीय सूचनामार्फत् अकस्मात् र बिनाकारण फागुन ५ गते बस्ने गरी स्थगित गरिएको सूचनाप्रति आफ्नोे दलको घोर आपत्ति रहेको बताइन् ।

यसबाट संसदीय मूल्य, मान्यता, संवैधानिक व्यवस्था र प्रदेशसभाको नियमावलीसमेतको घोर उल्लंघन गर्दै प्रदेशसभाका सभामुख अल्पमतको सरकारको लाचार छाया बन्न पुगेको स्पष्ट देखिन्छ ।

पत्रकार सम्मेलनपछि आन्दोलन गर्दै नेकपा प्रचण्ड–माधव समूहका सांसद्हरु अल्पमतको सरकार राजीनामा दे, सभामुख सरकारको छाया बन्न पाइँदैन ,प्रदेशसभा सञ्चालन गर, राष्ट्रघातीहरु होसियार जस्ता नारा लगाएका थिए । विरोध प्रदर्शनमा नेकपा नेतृ अष्टलक्ष्मी शाक्य, पशुपति चौलागाईं, शालिकराम जम्मकट्टेललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया