सिद्धार्थ बैंकको डेबिट कार्ड अब अनलाईनबाटै आवेदन दिन सकिने
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले अनलाईन मार्फत डेबिट कार्ड आवेदन दिन सकिने व्यवस्था ल्याएको छ । डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकहरुलाई छिटो तथा सहज सुविधा उपलब्ध गराउने उद्देश्यले सो व्यवस्था ल्याएको हो ।
यो व्यवस्थासँगै नयाँ डेबिट कार्ड लिनु परेमा, नविकरण गर्नु परेमा वा हराएको, बिग्रिएको कार्डको सट्टामा नयाँ बनाउन परेमा ग्राहकहरुले भौतिक रुपमा बैंकसम्म उपस्थित नभई घरैबाट डेबिट कार्डका लागि आवेदन दिनसक्नेछन् । यसका लागि ग्राहकहरुले बैंकको वेबसाइटमा गई आवश्यक विवरण भरी सहज रुपमा अनलाईन मार्फत आवेदन दिनुपर्नेछ ।
कार्ड तयार भईसके पश्चात बैंकले ग्राहकहरुलाई कार्ड संकलन गर्न एसएमएस मार्फत अनुरोध गर्ने छ । ग्राहकहरुले आवेदन दिँदा कार्ड संकलन गर्न छनोट गरिएको शाखाबाट डेबिट कार्ड संकलन गर्न सक्नेछन् ।
बैंकले ल्याएको यस अनलाईन सुविधामार्फत डेबिट कार्ड आवेदन दिन सकिने व्यवस्थाले ग्राहकहरु बैंकमा पुगेर लामो समयसम्म लाइनमा बस्नु नपर्ने र समयको बचत हुनुका साथै ग्राहकहरुलाई थप सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । यस व्यवस्थाले बैंकिङ्ग प्रणाली अझ बढि प्रभावकारी र ग्राहकमैत्री बन्नेछ ।
प्रतिक्रिया