६ महिनामा सेयर लगानीकर्ताको सम्पत्ति १४ खर्ब ३१ अर्बले बढ्यो, राज्यलाई ४ अर्ब प्राप्त

नेपालखोज २०७७ माघ २० गते १२:२१

काठमाडौं । सेयर बजार बढेसँगै यसले लगानीकर्ताको सम्पत्ति त बढाएको छ नै राज्यको आम्दानी समेत बढाएको देखिएको छ । यो वर्षको ६ महिनामा मात्रै सरकारले सेयर कारोबारबाट प्राप्त हुने पुँजीगत लाभकर बापत ४ अर्ब ५५ करोड कमाएको छ ।

सेयरबजारमा कारोबार बढेसँगै लगानीकर्ताले त उच्च कमाएका छन् नै त्यसबाट सरकारले समेत राम्रो आम्दानी गर्न सकेको छ । गत वर्षको ६ महिनामा सेयरबजारबाट २७ करोड पुँजीगत लाभकर संकलन गरेको सरकारले यो वर्षको सोही अवधिमा ४ अर्ब ५५ करोड प्राप्त गरेको छ ।

साउन यता मात्रै लगानीकर्ताको सम्पत्ति १४ खर्ब ३१ अर्बले बढेको छ । साउनमा कारोबार सुरु हुँदा १८ खर्ब ३५ अर्ब रहेको सेयर लगानीकर्ताको सम्पत्ति अहिले ३२ खर्ब ६६ अर्ब पुगेको छ ।

सेयरबजार परिसुचक नेप्से बढ्दै जाँदा सेयर कारोबारीले पनि राम्रो आम्दानी गरेका छन् । उनिहरुले गरेको आम्दानीमा सरकारले व्यक्तिगत लगानीकर्ता भए ५ प्रतिशत र संस्थागत लगानीकर्ताका लागि १० प्रतिशत पुँजीगत लाभकर लगाउँछ ।

गत वर्षको पुस मसान्तसम्म सेयर कारोबारबाट सरकारले २७ करोड ५२ लाख रकम प्राप्त गरेको छ । तर, यो वर्षको सोही अवधिमा भने ४ अर्ब ५५ करोड ८६ लाख संकलन गरेको छ । अर्थात गत वर्षको तुलनामा सेयर कारोबारबाट राज्यलाई हुने आम्दानी १३ सय ७३ प्रतिशतले बढेको छ । कारोबार रकम बढेसँगै राज्यलाई हुने आम्दानी पनि बढेको हो ।

त्यस्तै गत वर्षको ६ महिनामा ७ लाख ७२ हजार पटक सेयर कारोबार भएकोमा यो वर्षको सोही अवधिमा ४७ लाख ८६ हजार पटक किनबेच भएको छ ।

त्यस्तै गत वर्षको ६ महिनामा ४६ अर्ब ६७ करोेड रुपैयाँको कारोबार भएकोमा यो वर्षको सोही अवधिमा यस्तो कारोबार ४ खर्ब २१ अर्ब १७ करोडको कारोबार भएको छ ।

गत वर्ष दैनिक औसतमा ६० देखि ७० करोडको कारोबार हुने गरेकोमा अहिले यो बढेर औसत दैनिक ५ देखि ६ अर्बको हाराहारीमा पुगेको छ । यसरी कारोबार बढेसँगै व्यक्ति र संस्था मात्रै होइन राज्यले गर्ने आम्दानी पनि बढेको छ ।

महामारीका कारण अन्य क्षेत्रमा लगानीका ढोका बन्द भएपछि लगानीकर्ता सेयरबजारमा ओइरिएका छन् । असारबाट नियमित खुलेको बजार साउनयता निरन्तर बढेर आइतबार २ हजार सय ८ अंक कायम भएको छ ।

यसअघिका अर्थमन्त्री युवराज खतिवडाले सेयरबजारलाई अनुत्पादक क्षेत्र भनेसँगै उनले चर्काे आलोचना खेप्नुपर्याे । ट्रेड साइकल अनुसार खस्केको बजारको दोष पनि उनले नै ब्यहोर्नुपर्याे । त्यति मात्रै होइन उनका विरुद्ध राजीनामा माग गर्दै आन्दोलन समेत गरियो ।

अन्य क्षेत्रका लगानीका अवसर भएकाले त्यतिबेला केही व्यक्ति बाहेक अन्य उद्योगधन्दा तथा व्यापारमा केन्द्रित भएका थिए । जसका कारण बैंकको ब्याजदर उच्च थियो । त्यसैले सेयर बजारमाथि उठ्न सकेको थिएन ।

अहिले अन्य क्षेत्रमा लगानीका ढोका बन्द भएपछि लगानीकर्ताले आफ्नो कमाई बढाउन सेयर बजारमा लगानी बढाएका छन् । र अहिले बढेको बजारको जस अर्थमन्त्री विष्णु पौडेललाई गएको छ । उनले सेयरबजारका लगानीकर्ताबाट प्रसंशा मात्रै होइन राज्य चलाउनका लागि आवश्यक ढुकुटी समेत पाइरहेका छन् ।

प्रतिक्रिया