सिन्धुपाल्चोकमा यात्रुवाहक बस दुर्घटना, १९ घाइते

नेपालखोज २०७७ माघ २० गते १५:४१

सिन्धुपाल्चोक । लामोसाँघु जिरी सडकखण्डअन्तर्गतको सुनकोसी गाउँपालिका क्षेत्र सडकखण्डमा यात्रु बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।

मंगलबार दिउँसो दोलखाबाट काठमाडौं जाँदै गरेको रोल्वालिङ यातायातको बा ३ ख २७८९ नम्बरको बस दुर्घटना भएको हो ।

तीव्र वेगमा आइरहेको यात्रुबस सडकको मोडपछि ठूलो आवाजसहित दुर्घटना भएलगत्तै स्थानीय र सुरक्षाकर्मी घटनास्थल हेर्न पुगेका थिए ।

दोलखा र सिन्धुपाल्चोकको विभिन्न स्थानका १९ घाइते यात्रुलाई तत्कालै उपचारर्थ बलेफी गापा ७ खाडीचौर बजारस्थित सिन्धु सदाबहार अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए । घाइते हुनेमा १० जना पुरुष, ८ महिला, एक जना बालक छन् ।

१९ मध्ये एक बलेफी गापा वडा ६ का वर्ष ३७ सिताराम थापाको ढाडमा गहिरो चोट देखिएपछि खाडीचौरबाट काठमाडौंको अस्पताल रिफर गर्न लागिएको सूचना पाएको उनले उल्लेख गरे ।

अधिकांश घाइतेको हात र गोडामामा चोट लागेका र उनीहरुको सिन्धु सदाबहार अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया