आफ्नो जीवनकालमै हुलाक टिकट प्रकाशन हुने सत्यमोहन जोशी पहिलो व्यक्ति

नेपालखोज २०७७ माघ २० गते १८:४४

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तस्बिर अङ्कित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरेकी छन् ।

फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयद्वारा मङ्गलवार (आज) राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपतिले जोशीको तस्बिर अङ्कित हुलाक टिकटमा टाँचा प्रदान गरेकी हुन् । जोशीको तस्विर अङ्कित १० रुपैयाँको हुलाक टिकट १० लाख थान छापिएको हुलाक टिकट व्यवस्थापन कार्यालयले जनाएको छ ।

गएको आइतवार बसेको मन्त्रिपरिषद् बैठकले शताब्दी पुरुष जोशीको तस्विर अङ्कित छपाइ भइआएको हुलाक टिकट प्रकाशन गर्न स्वीकृत दिने निर्णय गरेको थियो । गएको चैत ९ गतेको मन्त्रिपरिषद् बैठकले सन् २०२० को फिलाटेलिक कार्यक्रम स्वीकृत गर्दै हुलाक टिकट प्रकाशन गर्ने निर्णय गरेको थियो । कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जोशीद्वारा लिखित पाँच पुस्तक र जोशीले सिर्जना गरेका गीत सङ्ग्रह ‘क्रान्तिका लहर’ नामक सीडी राष्ट्रपतिलाई दिएका थिए ।

जोशीको जन्म १९७७ वैशाख ३० गते ललितपुरको इखुम्बहालमा भएको थियो । कला, संस्कृति र साहित्यका धनी जोशीले २०७४ वैशाख २१ गते वाङ्मय शताब्दी पुरुषको उपमा पाएका थिए । उनले मदन पुरस्कार, सुप्रबल गोर्खा दक्षिणबाहु, त्रिशक्तिपट्ट, आदिकवि भानुभक्त पुरस्कार, उज्ज्वल कीर्तिमान राष्ट्र दीपलगायत पदक र पुरस्कार प्राप्त गरेका छन् ।

जोशीलाई काठमाडौं विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ । उनको सम्मानमा नेपाल राष्ट्र बैङ्क, मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाबाट उनको तस्विर अङ्कित चाँदीको सिक्का निष्कासन गरिएको छ । दुई हजार पाँच सयका २५ हजार थान, एक हजारका २५ हजार थान र एक सयको १० हजार थान दरको सिक्का निष्कासन गरिएका छन् ।

यस अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले हुलाक टिकट प्रकाशनको इतिहासमा आफ्नो जीवनकालमै हुलाक टिकट प्रकाशन हुने सामाजिक व्यक्तित्वका रूपमा पहिलो व्यक्ति जोशी रहेको बताए । ‘वाङ्मय शताब्दी पुरुष जोशीको आजदेखि जीवनको नयाँ इतिहास सुरु भएको छ, यो इतिहासको दस्तावेजका रूपमा रहेको छ’, नेपाल सरकारका प्रवक्ता गुरुङले भने, ‘एक जुगमा एक दिन एक पटक आउँछ भने जस्तै शताब्दी पुरुषको जीवनकालमा एक दिन आएको छ, त्यही एक हो जुन दिन राज्यले सम्मान प्रकट गरेको छ ।’

कला, संस्कृति र साहित्यको ज्ञाता जोशीलाई राज्यले बुझेको जनाउँदै मन्त्री गुरुङले उनि यस शताब्दीका हरेक दिनको साक्षीका रूपमा रहेको बताए । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, काठमाण्डौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया