आइतबार, वैशाख ७, २०८२

संविधानमा सबै क्षेत्रको अपनत्व हुनुपर्छ : वरिष्ठ नेता महतो

नेपालखोज २०७७ माघ २० गते २०:०७

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले संविधानमा सबै क्षेत्रका जनतका अपनत्व हुनुपर्ने बताएका छन् । सो पार्टीको जिल्ला समन्वय समिति मोरङद्वारा आज यहाँ आयोजित अगुवा कार्यकर्ता भेलामा उनले पहाड, हिमाल र तराईमा बसोबास गर्ने सबै नागरिकको समानुपातिक समावेशी केन्द्रित संविधान हुनुपर्नेमा जोड दिए।

वरिष्ठ नेता महतोले संसद् पुनःस्थापना र निर्वाचनबाट जनताका समस्या समाधान नहुने उल्लेख गर्दै जनताको अधिकार स्थापित गर्न मुलुकमा सुशासन कायम हुनुपर्ने र आर्थिक समृद्धिका लागि संविधान संशोधन नै स्थायी समाधान रहेको धारणा व्यक्त गरे ।

उनले स्वार्थ र कुर्सीको लडाइँका कारण संसद् विघटन भएको उललेख गर्दै विगत ७० वर्षको अवधिमा जनताको भन्दा प्रमुख राजनीतिक दलका नेतृत्वको स्वार्थका कारण सात वटा संविधान आएको बताए ।

पार्टीका कार्यकारी सदस्य युवराज कार्कीले संसद् विघटनले विधिको शासन उल्लङ्घन भएको बताए । पार्टीका जिल्ला अध्यक्षद्वय राजकुमार यादव र मोहम्मद कादिरलगायतले जसपा प्रगतिशील र नविन सोच भएको पार्टी हो भन्दै समानुपातिक समावेशीका सवालमा पार्टी गम्भीर रहेको बताए ।

प्रतिक्रिया