शनिबार, वैशाख ८, २०८१

काठमाडौँ मेयर कप क्रिकेट हुने, महानगरपालिकाको ५० लाख रुपैयाँ सहयोग

नेपालखोज २०७७ माघ २० गते २०:१६

काठमाडौं । काठमाडौं मेयर्स कप–२०७७ एकदिवसिय क्रिकेट प्रतियोगिता हुने भएको छ । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता नेपाल क्रिकेट संघ (क्यान) ले गर्नेछ ।

मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको रहोबरमा प्रमुख प्रशासकिय अधिकृत राजेश्वर ज्ञवाली र नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले सम्झौता पत्रमा हस्ताक्षर गर्दै आदान प्रदान गरेका थिए । सम्झौतमा अनुसार क्यानलाई काठमाडौं महानगरपालिकाले ५० लाख रुपैयाँ प्रदान गर्ने छ । महानगरले पहिलो चरणमा ६० प्रतिशत र दोस्रो चरणमा ४० प्रतिशत रकम उपलब्ध गराउने छ ।

प्रतियोगिता चैत्र मसान्तभित्र गरिसक्ने सम्झौता भएको छ । प्रतियोगिता ओमान भ्रमणलाई लक्षित गर्दै गरिने छ । क्यानका मेनेजर विनोद दासका अनुसार टेक्निकल कमिटि र प्रतियोगिता कमिटिको स्विकृती आईसकेपछि खेल तालिका र टोली सङ्ख्या निर्धारण हुने छ ।

नेपालले मार्च १९ देखि २८ सम्म (चैत्र ६ देखि १५) ओमानमा त्रिकोणात्मक एकदिवसिय सिरिज खेल्ने छ । आइसिसी वर्ल्ड कप सुपर लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीच एकदिवसिय त्रिकोणात्मक सिरिज हुँदैछ । कोरोना कारणले सिरिज एकदुई हप्ता पर सर्ने सम्भावना पनि छ ।

सम्झौता पश्चातको औपचारीक कार्यक्रममा बोल्दै महानगर प्रमुख विद्यासुन्दर शाक्यले अहिले गरेको सम्झौतालाई आगामी दिनमा निरन्तरता दिने बताए । उनले भने ‘हिजोका दिनसम्म हामीले फुटबल क्लबसँग लगानी गरेका थियौं । अहिले क्यानसँग गरेर समग्र नेपाली क्रिकेटलाई अघि बढाउन लागेको छौं । यसलाई फुटबललाई जस्तै निरन्तरता दिनेछौं । यो भव्य र सभ्य रुपमा सफल बनाउन महानगरभन्दा क्यानको भूमिका महत्त्वपूर्ण हुनेछ । आगमी वर्ष बजेट तयार गर्दा खेलकुद थप बजेट ब्यवस्थापन गर्ने छौं ।’

कार्यक्रममा बोल्दै क्यानका अध्यक्ष चन्दले यस प्रतियोगिता अन्य स्थानिय तहलाई पनि उदाहरण हुने गरि भव्य रुपमा गर्ने बताए । ‘नेपालको क्रिकेटमा गुन लगाएकोमा धन्यावाद । यो एउटा सहकार्य र सुरुवात हो । निकट भविष्यमा स्तरिय र भव्य क्रिकेट प्रतियोगिता गर्ने छौं’, चन्दले भने । यसले अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि नेपाली टोली बलियो हुने विश्वास राखे ।

प्रतिक्रिया