सभामुख गएनन् संवैधानिक आयोगमा नियुक्त पदाधिकारीको सपथ कार्यक्रममा

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा संवैधानिक आयोगका सिफारिस भएका पदाधिकारीको सपथ ग्रहण कार्यक्रममा सहभागी भएनन् ।
बुधबार बिहान राष्ट्रपति भवन शितल निवासमा ३२ जना पदाधिकारीलाई सपथ ग्रहण गराइएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस भएका प्रेम कुमार राईसहित आयोगका अध्यक्षमा नियुक्त भएकाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाबाट तथा सदस्यहरुलाई सम्बन्धित आयोगको प्रमुखबाट सपथ गराइएको हो ।
संविधान मिचेर पदाधिकारी नियुक्त गरेको भन्दै सभामुख सापकोटा कार्यक्रममा उपस्थित नभएको निकटहरुको भनाइ छ ।
यसअघि आइतबार सभामुख सापकोटाले संवैधानिक आयोगहरूमा नियुक्तिका लागि सिफारिस भएका व्यक्तिहरूको संसदीय सुनुवाइका लागि संघीय संसद् सचिवालयमा पठाइएका कागजात फिर्ता पठाएका छन् ।
उनले अहिलेको अवस्थामा संसदीय सुनुवाइ हुन सक्ने अवस्था नरहेकाले सिफारिस फिर्ता पठाउने निर्णय लिएको बताएका थिए ।
सभामुख सापकोटाले विभिन्न कारण देखाउँदै संसदीय सुनुवाइ हुन नसक्ने भन्दै संसदीय सुनुवाइ सम्बन्धि कागजात फिर्ता गर्नुको कारणहरू उल्लेख गरेका छन् ।
प्रतिक्रिया