बिहीबार पूर्ववत् रुपमै सार्वजनिक यातायात, पेसा र व्यवसाय सञ्चालन गर्न गृहको आग्रह
काठमाडौं । सरकारले बिहीबार पूर्ववत् रुपमै सार्वजनिक यातायातलगायत उद्योगधन्दा, पेसा, व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले बिहीबार आमहड्ताल घोषणा गरेपछि गृहमन्त्रालयले बुधबार साँझ विज्ञप्ति जारी गर्दै सो आग्रह गरेको हो ।
दैनिक रुपमा सञ्चालित उद्योग, पेसा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिने गरी सुरक्षा व्यवस्था मिलाइने गृहमन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दैनिक रुपमा सञ्चालित उद्योग, पेसा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिने गरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइने हसँदा यातायात व्यवसायी लगायत सबै उद्यमी व्यवसायीहरुलाई निर्धक्क एवं पूर्ववर्त रुपमा आ–आफ्नो उद्योगधन्दा, पेसा, व्यवसाय सञ्चालन गर्न गृहमन्त्रालय आग्रह गर्दछ ।’
आन्दोलनका क्रममा शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, सार्वजनिक यातायात सञ्चालनमा अवरोध लगायतका अवाञ्छित गतिविधि गरेको पाइएमा त्यस्ता गतिविधमा संलग्नमाथि कारबाही गर्ने गृहले चेतावनी दिएको छ ।
प्रतिक्रिया