प्रचण्ड–नेपाल समूहको आमहड्ताल : यस्तो छ भक्तपुरको पछिल्लो अवस्था
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहद्वारा जारी आमहड्तालको प्रभाव भक्तपुरमा पनि देखिएको छ ।
प्रतिनिधिसभा विघटनको विरुद्ध आन्दोलनमा रहेको प्रचण्ड–नेपाल समूहले सरकारले असंवैधानिक ढंगले संवैधानिक निकायका पदाधिकारी नियुक्ति गरेपछि त्यसविरुद्ध आज (बिहीबार) आमहड्तालको घोषणा गरेको हो ।
उक्त समूहले घोषणा गरेको आमहड्तालका कारण भक्तपुर भएर चल्ने सार्वजनिक यातायात ठप्प भएका छन् ।
यता काठमाडौं उपत्यकाका विभिन्न स्थानमा प्रचण्ड–नेपाल समूहका नेता तथा कार्यकर्ता सडक अवरोध गर्दै नाराबाजी गरिरहेका छन् ।
निर्वादरुपमा हिँड्न अवरोध गरेको भन्दै प्रहरीले सडकमा निस्किएका ७७ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । काठमाडौंबाट ७६ र भक्तपुरबाट एक जनालाई पक्राउ गरिएको हो ।
महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख हरिबहादुर पालका अनुसार गरी पक्राउ परेका उनीहरूलाई नजिकैको प्रहरी कार्यालयमा राखिएको छ ।
यसैगरी गृह मन्त्रालयले बुधबारै सूचना जारी गरेर सडकमा कुनै पनि किसिमको अवरोध वा तोडफोड भए जोसुकैलाई पक्राउ गर्ने भनेको थियो ।
सरकारले बिहीबार पूर्ववत् रुपमै सार्वजनिक यातायातलगायत उद्योगधन्दा, पेसा, व्यवसाय सञ्चालन गर्न आग्रह गरेको थियो । प्रचण्ड–नेपाल समूहले बिहीबार आमहड्ताल घोषणा गरेपछि गृहमन्त्रालयले बुधबार साँझ विज्ञप्ति जारी गर्दै सो आग्रह गरेको थियो ।
प्रतिक्रिया