सोमबार, वैशाख २४, २०८१

उत्तरी गोरखामा हेलिकप्टरबाट कोरोना खोप ढुवानी

नेपालखोज २०७७ माघ २२ गते १६:२६


काठमाडौं ।तिब्बतसँग सिमाना जोडिएको र सडक सञ्जालले नछोएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयसेविकालाई लगाउन हेलिकप्टरबाट कोरोनाविरुद्धको खोप ढुवानी गरिएको छ।

स्वास्थ्य कार्यालय गोरखाले बिहीबार चिकित्सक, स्वास्थ्यकर्मीसहित खोप पठाएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख नरजंग ठकुरीले बताए।

तीन जना डाक्टर, दुई जना स्वास्थ्यकर्मीसहित तीन ठाउँमा खोप केन्द्रका लागि खोप हेलिकप्टरबाट पठाएका छौँ’ ठकुरीले भने।

चुमुनब्री गाउँपालिका ६ चुम्लिङमा २० जना, वडा नम्बर २ को लिहीमा ३० र वडा नम्बर ३ सिर्दीबासको फिलिममा १८ जनाका लागि खोप पठाइएको हो। तीन ठाउँबाट गाउँपालिकाभित्रका सबै स्वास्थ्यकर्मीलाई खोप लगाउन सकिने गरी केन्द्र तोकिएको स्वास्थ्य कार्यालयले जनाएको छ। सदरमुकामसम्म आउँदाजाँदा एक साता लाग्ने, धेरै पैसा खर्च हुने भएपछि स्वास्थ्यकर्मीका लागि हेलिकप्टरबाट खोप पठाएका हौँ स्वास्थ्य कार्यालयका खोप अधिकृत ऋषिराम खत्रीले भने।

बिहीबार सबै केन्द्रमा खोप पुग्ने र शुक्रबारदेखि लगाउन थालिने उनले बताए।

यस्तै धार्चे गाउँपालिकाको माछाखोलामा पनि खोप केन्द्र राखिएको छ। त्यहाँबाट ४७ जनालाई खोप लगाउने लक्ष्य लिइएको स्वास्थ्य कार्यालयले जनाएको छ।

बिहीबारसम्म गोरखामा ११ सय ७७ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन्। दुई हजार १० जनालाई पुग्ने गरी खोप आएको गोरखामा अझै केही स्वास्थ्यकर्मी, सरसफाइकर्मीले लगाउन बाँकी छ। लक्ष्यअनुसार खोप लगाउनेको संख्या कम भएपछि जिल्ला कोभिड खोप समन्वय समितिको बैठकले उत्तरी गोरखामा हेलिकप्टरबाट खोप ढुवानी गरेर भएपनि स्वास्थ्यकर्मीलाई लगाउने निर्णय गरेको थियो।

प्रतिक्रिया