रामेछापका बन्दकर्ताको नयाँ शैली: सडक बढारे, सडकमै नाचगान
रामेछाप । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूह रामेछापले बिहीवार नेपाल बन्दको अवसर पारेर रामेछापको सदरमुकाम मन्थलीको सडक बढारेका छन् ।
नेपाल बन्दमा यस पटकको नेताहरुले नयाँ शैली अपनाएका हुन् । विगतका बन्दमा नारा जुलुससहित पसल, होटल, यातायात र विद्यालयहरु बन्द गर्दै हिँड्ने, तोडफोडमा उत्रने नेताहरुले यसपटक भने नयाँ शैली अपनाए ।
बजार बन्दमा निस्किएका नेकपा प्रचण्ड–माधव समूहका प्रतिनिधि सभा सदस्य श्यामकुमार श्रेष्ठ, जिल्ला इञ्चार्ज देवशङ्कर पौडेल, जिल्ला अध्यक्ष मयनकुमार मोक्तानलगायतको टोलीले मन्थलीको पुरानो कटहरबोटदेखि तामाकोशी सेवा समितिसम्मको सडक र पेटी बढारेर सफा गरेका हुन् । सडक सफा भएपछि उनीहरुले विरोध स्वरुप मन्थलीको देवकोटा चोकमा दिनभर सडक अवरुद्ध गरि नाचगान गरेका छन् ।
प्रतिनिधि सभा विघटनको विरुद्धमा नेकपाको प्रचण्ड–माधव समूहले आह्वान गरेको नेपाल बन्दको असर रामेछापमा पनि परेको छ । नेपाल बन्दको विरोधमा उत्रिएका प्रचण्ड–माधव समूहका नेता तथा कार्यकर्ताहले बिहानैदेखि मन्थली बजारमा झण्डासहित निस्किएर बजार बन्द गराएका छन् ।
बन्दको समयमा जिल्लामा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गरि प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले जानकारी दिए । उनका अनुसार रामेछापमा अहिलेसम्म कुनै अप्रिय घटना घटेको छैन ।
प्रतिक्रिया