सोमबार, पुष २९, २०८१

कोरोनाविरुद्धको खोप अभियानको दशौँ दिन : लक्ष्य भन्दा ४० प्रतिशत कमलाई खोप

नेपालखोज २०७७ माघ २३ गते २०:३७

काठमाडौं । सरकारले पहिलो चरणको कोरोना भाइरसविरुद्धको खोप अभियानको दशौँ दिनसम्ममा लक्ष्यको ४० प्रतिशतभन्दा कम मानिसलाई मात्र खोप लगाएको छ ।

Advertisement

१० दिनमा चार लाख ३० हजार मानिसलाई खोप लगाउने लक्ष्यसहित माघ १४ गतेदेखि सुरु भएको खोप अभियानको दशौँ दिन शुक्रवारसम्ममा एक लाख ७१ हजार चार सय ८६ जनालाई खोप लगाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

खोप अभियान सुरु गर्दा सरकारले १० दिनभित्र देशभर तीन सयभन्दा धेरै खोप केन्द्रमार्फत चार लाख ३० हजारलाई पहिलो चरणको खोप दिने घोषणा गरेको थियो । तर अहिलेसम्म देशका दुई सय एक वटा केन्द्रमा मात्र खोप कार्यक्रम भएको छ ।

अहिलेसम्म प्रदेश नम्बर एकमा २३ हजार ८२, प्रदेश नम्बर २ मा २२ हजार सात सय ५६, वाग्मतीमा ५९ हजार नौ सय ४२ जनाले खोप लगाएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै गण्डकी प्रदेशमा १७ हजार तीन सय १५, लुम्बिनीमा २६ हजार आठ सय ९८, कर्णालीमा आठ हजार ६ सय ८४ र सुदूरपश्चिममा १२ हजार आठ सय नौ जनाले खोप लगाएका छन् ।पहिलो चरणको खोप अभियान भोलिदेखि सकिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । दोस्रो चरणसम्बन्धी जानकारी चाँडै उपलब्ध गराइने मन्त्रालयका प्रवक्ता गौतमले बताए ।

प्रतिक्रिया