सोमबार, पुष २९, २०८१

ठूलो गन्तव्यको यात्रामा हिँडेकी ‘म’

नेपालखोज २०७७ माघ २४ गते ११:००

तिमी जाऊ अहिले, पछि कुरा गरौंला भनेर मैले प्रितमलाई पठाइदिए । खै मलाई पनि के भएको थियो, उसको अघि झन बढी नाक खुम्चियो । अर्को दिन पनि कपी माग्न आएको थियो, कपी माग्न नभनौं हेर्ने र बोल्ने वहानामा आएको थियो, सायद । यसरी नै एक–एक वहाना बनाएर प्रितम मलाई भेट्न आइरहन्थ्यो । उ पनि लजालु स्वभावकै थियो । मैले के भन्दो रहेछ भने सोधेँ एक दिन, प्रितम तिमीलाई मैले नाक खुम्च्याएको मन पर्छ भन्यौ, तर के तिमीलाई मेरो डिम्पल चाहीँ मन पर्दैन । प्रितम लजाएर बोल्नै सकेन । जस्तो आएको उस्तै फर्कियो ।

Advertisement

उ प्रेमिल त थिएन, तर मिल्ने साथीमा चाहिँ पर्थ्यो । प्रितमप्रति मलाई लत चाहिँ थियो । दिनमा उसलाई नभेट्दा र नबोल्दा मेरो दैनिकी अपुरै रहन्थ्यो । ९ कक्षाको अन्तिम परीक्षा हुनु दुई दिन अगाडि बानेश्वरबाट एउटा माडे परिवार एसओएसमा आयो । उनीहरुलाई असल केटा चाहिएको रहेछ । स्कुल प्रशासनले असल केटाको रुपमा प्रितमलाई राखेको थियो । स्कुल र त्यो माडे परिवारको सल्लाहस्वरुप प्रितमलाई लैजाने कुरा भयो । एसओएसमा राम्रो परिवार आउँदा बच्चालाई पठाउने व्यवस्था पनि थियो ।

स्कुल सकिएर खाजा खाने समय थियो । मैले घडी हेरें ५ बजेर ११ मिनेट गएको थियो । प्रितम मेरो अघि देखा पर्यो र भन्यो, प्रगति अब म त जाने । तिमिलाई अब सधैँ हेर्ने र जिस्काउने मान्छे नहुने भयो नि, अनि कपी ल्याउन भन्दै आउने मान्छे पनि हुँदैन । तिमिलाई अरु कसैले जिस्कायो भने जुध्न जाने मान्छे पनि हुँदैन । तिमि सधैँ यसरी नै राम्रोसँग पढ्नु ल, मिल्यो भने म भेट्न पनि आउँला । प्रितम यति बिघ्न घनिष्ट थियो कि मलाई उसको प्रत्येक शब्दले मनमा चिसो पस्यो । नचाहँदा नचाहँदै आँशु आयो । मैले आँशु रोक्न हाँस्ने प्रयास गरेँ । उसले यसमा कुनै प्रतिक्रिया दिएन । बरु कुरा मोड्दै भन्यो । अस्तिनै सोधेको थियौ नि त्यसको उत्तर आज भन्छु, मलाई तिम्रो डिम्पल पनि उत्तिकै मन पर्छ । म फेरी टोलाए । त्यति भनेपछि प्रितमले आफ्नो मुठ्ठी दिँदै हात थाप भन्यो, र मुठ्ठी खोल्दै भगवान शिवको लकेट मेरो हातमा राखिदियो । प्रितमको म प्रतिको माया देखेर म बोल्नै सकिन । उसले दिएको लकेट मेरो हातमा थियो, तर उ भने धेरै टाढा जाँदै थियो । गेटमा नपुगुञ्जेल आखा चिम्म नगरी हेरिरहें । माडे परिवारको चिल्लो गाडीको झ्यालबाट टाउको बाहिर निकाल्यो र प्रितमले मलाई अन्तिम पटक हेर्यो र बाई गरेर गाडी भित्र पस्यो ।

त्यो रात राम्रोसँग निन्द्रा परेन । भोलिपल्टको कक्षा पनि प्रितम बिना अपुरो लाग्यो । कसैले कसैको नोट कपी मागेको सुन्दा पनि झस्कन्थें । प्रितमको नाम कसैले लियो भने छाती भारी भएर आउथ्यो खिन्न लाग्थ्यो । केही दिन यसरी नै बित्यो । बिस्तारै कक्षाको मनोरञ्जन र साथीहरुको गफगाफले प्रितम भुलाउन धेरै राहत मिल्यो । राजमार्ग त मेरो बाँकी जिन्दगी थियो । प्रितम त मेरो सानो गल्ली जस्तो मात्र भयो । उसको याद पनि कुनै–कुनै घुम्तिमा ठोक्किन्थ्यो, अनि फेरी हराउँथ्यो ।

ठूलो गन्तव्यको यात्रामा हिँडेकी म केही किलोमिटरको कच्चि बाटो आउँदैमा लडिहाल्नु पर्ने थिएन । प्रितम गएको केही महिनामा पिकनिक जाने योजना बन्यो । कोही चाँगुनारायण जाने भन्थे त कोही सुन्दरीजल । कोही नगरकोट भन्थे त कोही ककनी । अन्तिममा स्कुल प्रशासनले थानकोट लिएर जाने भयो । पिकनिक जाने अघिल्लो रात खासै निद्रा परेन । बल गरेर सुतें र बिहान ४ बजे उठें र अनि साथिलाई पनि उठाएँ । नुहाईधुवाई सकेर नदेखिने गरी मेकप पनि गरे । सबै तयारी सकेर बस चढ्न गयौं । तर, बस आउन ढिला भयो । हामीले बस कुर्ने समयमा राजेश सरलाई तितौरा किन्न पठायौं । राजेश सर भर्खरै आउनुभएको नयाँ सर हुनुहुन्थ्यो । तर, वर्षौं पुरानो साथी जस्तो हुनुहुन्थ्यो । विद्यार्थीहरुको मनोरञ्जनका लागि कथा, गजल र विभिन्न खेलहरु पनि खेलाउनुहुन्थ्यो । हामीले राजेश सरलाई सबै कुरा भन्थ्यौं । उहाँले पनि आफ्नो हरेक कुरा हामीलाई भन्नुहुन्थ्यो । क्रमशः……

प्रतिक्रिया