बिहीबार, वैशाख १३, २०८१

सरकार र नेताहरु आन्दोलनमा, मनाङे आगो निभाउने प्रकृति ?

नेपालखोज २०७७ माघ २४ गते १२:२३

देशमा संसद विघटनपछि आन्दोलन र प्रदर्शनहरु भइरहेका छन् तर मनाङमा लागेको डढेलो निभाउन भने प्रकृति चाहिएको छ । देशको प्रकृतिको संरक्षणमा लाग्नुपर्ने सरकार मान्छे बटुलेर नारायणहिटीमा शक्ति प्रदर्शनमा व्यस्त छ । मनाङका जनता भने पानी परोस् र आगो निभोस् भनेर कुरी बसेका छन् । नेताका आसेपासेहरु नेताका भाषणमा ताली पिट्नमा मजा लिईरहेका छन् । विकास समृद्धिको नारा लगाउने सरकारले कति काम गरिरहेको छ त्यो त मनाङको डढेलोले देखाइरहेको छ । छाती पिटेर म नै हो देशको रक्षक भन्ने सरकार र नेताहरुले के मनाङको डढेंलो देखेकै छैनन् त ?

वास्तवमा देशको चिन्ता यिनलाई हुन्थ्यो भने त यिनका भाषणमा यी कुराको बारेमा पक्कै उल्लेख हुन्थ्यो । कुनै नेताले यो प्रसङ्ग उठाएको सुनिएको छ त ? एक अर्कालाई हिलो छ्याप्न व्यस्त यिनीहरु देशमा लागिरहेको आगलागी बुझाउनु त कता कता, अझै राजनैतिक आगो लगाएर देशलाई अस्थीर बनाउन तत्पर छन् । युवावर्गले आआफ्ना नेतालाई मुलुकको मुहार फेर्ने यिनै हुन् भनेर समर्थन गरिरहँदा मनाङे डढेलोले कुरीकरी गरी गिज्याइरहेको छ ।

पानी छिट्टै परे त आगो निभ्ला नभए आगो निभ्दैन । वन जङ्गल नाश भएकोमा देशका नेतृत्व वर्गलाई कुनै मतलव छैन । मान्छे बटुलेर म देश बनाउँछु भन्दा तिनको भाषणलाई शिरोधार्य गरिरहेका नेपाली जनताले के आधारमा विश्वास लिई ताली पिटिरहेका छन् भन्ने प्रश्नको उत्तर छैन । गाउँगाउँबाट राजधानीमा मान्छे बटुलेर भाषण र नाराबाजी गर्न सक्ने नेताहरुले बटुलिएका लाखौं मानिसलाई आगो निभाउन प्रयोग गर्न सक्दैनथे त ?

भगवानसँग प्रार्थना गरौं कि छिट्टै पानी परोस् । सरकारले आगो निभाउँदैन । उसको काम आगो बाल्ने हो । देश जलाउने हो । जनताको दुहाई दिने नेता र नेतृत्ववर्ग भनिएकाहरुलाई देशको कुनै चिन्ता छैन । नेपाली जनता सचेत छ भनी भाषण गर्दा ताली पिटिरहेका हामी नेपालीलाई तिनले झुक्याइरहेका छन् । वस्तुतः हामी सचेत नभएकैलै हामी ताली पिटिरहेका छौं । सचेत थियौं भने त हामीले प्रश्न गर्दा हौं । सरकारको काम आगो बाल्ने हो कि आगो निभाउने हो ? मेरो समर्थनमा जनसागर उर्लिएको छ भन्ने सरकारले आगो निभाउन जनसागर किन थुपार्दैन ?

हप्तौंसम्म आगोले वन र वन्यजन्तु विनास गर्दा त्यसको संरक्षणमा लाग्नुपर्ने सरकारले मैले देश कायापलट गरिरहेको छु भन्नु अत्यन्त हास्यास्पद र निर्लज्जताको उदाहरण हो । यी निर्लज्जहरुले आगो निभाउँदैनन् । यिनले लगातार आगो बाल्ने हुन् दन्काउने हुन् । ध्वस्त बनाउने हुन् ।

प्रतिक्रिया