मंगलबार, माघ १, २०८१

भागरथी भट्ट हत्या प्रकरण : अनुसन्धानमा कुनै कमि हुँदैन

नेपालखोज २०७७ माघ २५ गते ९:४५

काठमाडौं । दोगडाकेदार–७ चडेपानीकी भागरथी भट्टको हत्या घटनाको अनुसन्धानमा कुनै कमि हुन नदिने प्रहरीले जनाएको छ ।

Advertisement

गत बुधबार विद्यालय गएकी १७ वर्षीया भागरथीको शव बिहीबार बीभत्स अवस्थामा फेला परेको थियो । भागरथीको शव बिहीबार दिउँसो गाउँकै विद्यार्थीले घर फर्किरहेको बेला सडकमुनि झाडीमा देखेका थिए । घटना स्थलमा साँझ ५ बजे स्थानीय र प्रहरी पुगेका थिए । शुक्रबार दिउँसो २ बजेतिर मात्र उनको शव घटनास्थलबाट उठाइएको थियो ।

किशोरी हत्या घटनाको अनुसन्धानका लागि अत्यन्त सजगताका साथ सुक्ष्म अनुसन्धान भइरहेको बताउँदै नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता बसन्तबहादुर कुँवर भन्छन्–‘अपराधी पत्ता लगाएर पक्राउ गरी कारबाही गर्न प्रहरी प्रतिवद्ध छ ।’

प्रहरीले विगतको कमजोरीबाट पनि पाठ सिकेर काम गरिरहेको र अनुसन्धानमा लापरवाही नहोस् भनेर नै सुरुमै घटनास्थलमा उच्च सुरक्षा अधिकारीहरु खटाइएको उनले बताएका छन् ।

कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका दोषी अझै पत्ता लागेका छैनन् । बैतडीमा फेरि उस्तै घटना दोहारिएको छ ।

यता भागरथी हत्याको अनुसन्धान पनि कञ्चनपुरकी निर्मला पन्तको जस्तै नहोस् भनेर चौतर्फी रुपमा खबरदारी भइरहेको छ ।

शनिबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले संयुक्त विज्ञप्ति जारी गर्दै यो घटना पनि निर्मला प्रकरण जस्तो नहोस् भनेर खबरदारी गरेका छन् ।

यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाले पनि भागरथीका हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।

निर्मला प्रकरणमा जस्तै भागरथीका हत्याराले पनि उन्मुक्ति नपाओस् भनेर सामाजिक सञ्जालमार्फत पनि व्यापक खबरदारी भइरहेको छ ।

प्रतिक्रिया