आइतबार, वैशाख २३, २०८१

प्रदेश १ सभाको बैठकमा प्रचण्ड-नेपालका १६ सांसदलाई प्रवेश गर्न नदिने ओली समूहको तयारी

नेपालखोज २०७७ माघ २५ गते १०:३३

विराटनगर । प्रदेश १ प्रदेशसभाको हिउँदे अधिवेशनको दोस्रो बैठक आज (आइतबार) बस्दैछ ।

माघ ७ गते करिब ३ मिनेट बसेर स्थगित भएको बैठक आज दिउँसो २ बजे बस्न लागेको हो । तर, बैठक सञ्चालन हुन नदिने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको तयारी छ ।

प्रदेशसभा बैठक अघि आइतबार बिहान ११ बजे प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठकमा कुनै मध्यमार्गी बाटो ननिस्किए सत्ता पक्षले बैठक अवरुद्ध गर्नेछ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रचण्ड–नेपाल समूहका १६ जना सांसदलाई ओली समूहले तीन महिनाका लागि निलम्बन गरेको छ । भीम आचार्य, इन्द्र आङ्बो, जीवन घिमिरेसहित निलम्बनमा परेका १६ जना प्रदेशसभा सदस्यलाई बैठकमा प्रवेश गर्न नदिने अडानमा ओली समूह छ । बैठकमा प्रवेश गरे बैठक सञ्चालन हुन नदिने ओली समूहको तयारी छ ।

नेकपा प्रदेश १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले कारवाहीमा परेका १६ सांसदलाई बैठक कक्षमा प्रवेश गर्न दिन नमिल्ने बताए ।

प्रतिक्रिया