शनिबार, जेठ ५, २०८१

वडा सदस्य निरज ‘प्रेमी’को घरमा झुण्डियको अवस्थामा ‘प्रेमिका’ अञ्जिताको शव फेला

नेपालखोज २०७७ माघ २५ गते १३:१३

कैलाली । कैलालीको गौरीगंगा नगरपालिका–३ का वडा सदस्य निरज चौधरीको घरमा २२ वर्षीया युवती झुण्डियको अवस्थामा मृत फेला परेकी छन् ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रतिक विष्टका अनुसार २२ वर्षीया अञ्जिता चौधरी आइतबार बिहान वडा सदस्य चौधरीको कोठामा झुण्डियको अवस्थामा मृत फेला परेकी हुन् ।

लामो समयदेखि निरज र अञ्जिता प्रेम सम्बन्ध रहेको मृतकको परिवारले जनाएको छ । तर, शनिबार निरजले अर्की महिलालाई भगाएर ल्याएपछि अञ्जिता र उनको परिवार निरजको घरमा पुगेका थिए ।

निरजले दुबैलाई श्रीमतीको रूपमा राख्ने भनेपछि अञ्जितालाई निरजसँगै छोडेर उनको परिवार फर्किएको थियो । निरज राति नै भगाएर ल्याएकी महिलासँग भागेपछि अञ्जिताले माइतीलाई फोन गरी खबर गरेकी थिइन् । त्यसपछि बिहान उनको शव फेला परेको हो ।

अहिले घटनासम्बन्धी अनुसन्धान भइरहेको र फरार वडा सदस्य निरज चौधरी खोजी भइरहेको डिएसपी बिष्टले जनाएको छ ।

प्रतिक्रिया